विराटनगर, २ साउन–निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या र संक्रमण दरमा एकाएक वृद्धि भएको छ ।
प्रदेश नम्बर–१ का तीन जिल्लाका प्रमुख तीन सहरमा बढी संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार तुलनात्मक रुपमा झापा, मोरङ र सुनसरीमा संक्रमितको संख्या बढ्न थालेको छ ।
अहिले प्रमुख बजार खुला छन् । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा छन् । प्रदेश राजधानी विराटनगरमा विगत दुई सातायता संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको छ । तर, सुनसरीका धरान र इटहरी तथा झापाको बिर्तामोडमा संक्रमितको संख्या बढ्दो क्रममा छ ।
पहिले दैनिक ३०० भन्दा बढी संक्रमित थपिने गरेको विराटनगरमा दैनिक ५० र त्यसभन्दा कम संक्रमित फेला पर्न थालेका छन् । तर, इटहरी, धरान र बिर्तामोडमा संक्रमित बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।
आइतबार प्रदेशभर ४६९ जना संक्रमणमुक्त हुँदा १६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।
कोसी अस्पताल विराटनगरका चिकित्सक लक्ष्मीनारायण यादव भन्छन्, “संक्रमितसँगै संक्रमण दर बढ्न थाल्नु चिन्ताको विषय हो । सरकारले पालना गर्न भनेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालनामा कमजोरी गरिनु हुन्न ।”
