काठमाडौं, ३ साउन –प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।
यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जानकारी दिए ।
अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ ।
संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।
त्यसक्रममा तीन कर्मचारीको रिपोर्ट पोजिटिभ आएको र बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।
यसैबीच, राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । नवौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
