काठमाडौं, १० साँउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टीभित्र आफू दबाबमा परेको बताएका छन् । मन्त्री बन्न दबाब दिनेहरुको हुलभित्र आफू रहेको उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसका अवसरमा शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मन्त्री बन्न चाहनेहरु धेरै हुँदा आफू मानसिक तनावमा रहेको समेत बताए ।
“मन्त्री बन्न मकहाँ दबाब दिने मान्छेहरुको हुलभित्रबाट आएको छु म । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने, बढी पाइयो भने सातजना हो,” उनले भने ।
राजनीतिमा अहिले आदर्शका ठूला–ठूला कुरा गर्ने तर व्यवहारमा भने त्यसो नहुने उनले बताए । मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गरेर हिँड्ने प्रवृत्ति मौलाएको भन्दै उनले गुनासो पोखे ।
“कुरा गर्दा आदर्शका ठूल्ठूला गर्ने । चित्तचाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन । पाइन्छ भने ठिक, पाइँदैन भने ठिक छैन । यस्तो छ अहिलेको कल्चर भनेको,” उनले भने ।
