काठमाडौं, ११ साउन–नेपाली राष्ट्रिय क्रिकेट टीमको टी-२० वरीयता सुधार भएको छ। नेपालले टेष्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-२० वरीयतामा सुधार गरेको हो। आइसिसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो।
नेपालको १९ खेलबाट ३५५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक प्राप्त गरेको छ। दक्षिण अफ्रिकासँग तीन टी-२० सिरिजमा क्लिनस्विपको सिकार भएपछि आयरल्यान्ड १३ औं स्थानमा झरेको हो। १३ औं स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १ सय ७८ रेटिङ अंक भएपनि नेपालभन्दा पछि छ।
नेपाल एसोसियटतर्फ सर्वाधिक उच्च स्थानमा छ। नेपालभन्दा अघि ११ औं स्थानमा जिम्बावे र १० औं स्थानमा बंगलादेश रहेको छ। इंग्ल्यान्ड शिर्ष स्थानमा रहँदा, भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौंथो स्थानमा रहेको छ। अष्ट्रेलिया पाँचौं, दक्षिण अफ्रिका छैटौं, अफगानिस्तान सातौं, वेस्टइन्डिज आठौं र श्रीलंका नवौं स्थानमा छन्।
नेपाल एकदिवसियमा भने १६ औं स्थानमा यथावत छ। नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो। पछिल्लो चार महिना कुनै टी-२० आई खेल नखेलेपनि नेपाल आयरल्यान्डको हारको कारण वरीयता सुधार्न सफल भयो।
