काठमाडौं, १२ साउन–नेकपा (एमाले) की सांसद गंगा चौधरी (सत्गौवा) ले ‘फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ?’ भन्दै प्रश्न गरेकी छन् । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा पार्टीका नेता माधवकुमार नेपाललाई लक्षित गर्दै यस्तो प्रश्न गरेकी हुन् ।
यही साउन १० गतेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सांसद् नारदमुनी रानालाई ‘प्रतिगमनको मतियार’ भन्दै राजीनामा दिएर जान भनेका थिए । सोही विषयमा सांसद् चौधरीले भनिन्, “फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? बराबरी हैसियत भएको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ त सबैको एउटै हैसियत हैन र ?”
उनले नेता नेपालको व्यवहारले वाक् स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताइन् । “संविधानले दिएको मौलिक हकको हनन् भएको छ । वाक् स्वन्त्रतामाथि गम्भीर आघात पुगेको छ,” उनले भनिन् ।
यस्तो दोहोरिए थारु समुदायलाई स्वीकार नहुने उनको भनाइ थियो ।
