काठमाडौं, १७ साउन–सत्तारुढ दलभित्रको आन्तरिक असमझदारीका कारण प्रधानमन्त्री चयन भएको २० दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सरकारमा सहभागिताको विषयमा सहमति कायम हुन सकेको छैन ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले नेपाल समूहलाई सरकारमा ल्याउन चाहन्छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देउवाको यो चाहनालाई साथ दिएका छन् ।

तर नेता नेपालले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुँदा कारबाहीमा परिने डर रहेकाले निर्णय गर्न नसकेको एक नेता बताउँछन् ।

पार्टी विभाजन गरेर सरकारमा जाने अवस्था नरहेको स्रोत बताउँछ । विभाजनका लागि नेपालसँग आवश्यक संख्या पुग्दैन ।

एकातिर मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन भने अर्कोतिर प्रधानमन्त्री देउवाले सरकारमा सहभागी गराउने व्यक्तिका बारेमा पनि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि पार्टीभित्र देउवाले विगतमा गरेको गल्तीलाई सच्याउन नचाहेको अर्थका रुपमा हेरिएका एक नेता बताउँछन् ।

बाह्रखरीसँगको कुराकानीमा उनले भने, “पार्टीमा लामो समयदेखि योगदान गरेका नेताहरुको चित्त दुखाउने गरी सभापतिले श्रेष्ठलाई राज्यमन्त्री बनाउनुभयो, त्यो पनि अहिलेको अवस्थामा स्वास्थ्य मन्त्रालयको पूरा जिम्मेवारी दिएर । यसले उहाँले विगतमा गरेको गल्ती सच्याउन नचाहेको देखिन्छ ।”

सत्तारुढ गठबन्धनको बैठकमा अन्य पार्टीका नेताहरुले यो विषयलाई उठाएपछि देउवाले आफूले गल्ती गरेको स्वीकार गरेका थिए ।

गठबन्धन बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकारले ओलीका गल्ती सच्याउने हो कि नयाँ गल्ती गर्दै जाने भन्दै प्रश्न उठाएका थिए ।

त्यसको जवाफ दिँदा प्रधानमन्त्री देउवाले झुक्किएर गल्ती भएको बताएका थिए ।

प्रधानमन्त्रीको गल्ती स्वीकारोक्तिसँगै उनले त्यो गल्ती सच्याउलान् कि नसच्याउलान् भन्ने प्रश्न उठेको छ ।

“यो सरकारको काम ओलीले गरेको गल्ती दोहोर्याउने हो कि सच्याउने रु, स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति हेर्दा नयाँ नयाँ गल्ती गर्दै जाने जस्तो देखियो,” बैठकको सुरुवातमै बोलेका राजमो अध्यक्ष केसीले प्रश्न उठाउँदै भनेका थिए, “व्यापारी, धनाढ्यहरुलाई मन्त्री बनाए उनीहरु आफ्नो व्यापार हेर्छन् कि जनताका समस्या रु”

जवाफमा प्रधानमन्त्री देउवाले ‘झुक्कियो, गल्ती भयो’ भनेका थिए ।

“तपाईंहरुले के सन्देश दिनुभएको, जनताका लागि जीवन अर्पण गरेर राजनीतिमा लागिरहेको अरु कोही थिएनन् रु भनेर मैलै नै प्रश्न गरेको थिएँ,” केसीले भने, “त्यसपछि प्रधानमन्त्रीले झुक्किएर गल्ती भयो भन्नुभयो ।”

उनले प्रधानमन्त्रीले झुक्किएको भने पनि मन्त्री बनाउँदा पनि झुक्किने कुरा कस्तो होला भनेर आश्चर्य प्रकट गरे ।

“जनतालाई सेवा दिनुपर्ने मन्त्रालयमा नै उहाँ झुक्किनुभयो भने के कुरामा उहाँ झुक्किनुहुन्न होला ?,” उनको भनाइ थियो ।
देउवाका विश्वासपात्र समेत रहेका महामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालमार्फत कास्की र संघीय मन्त्रिपरिषद्मा भएका गल्तीको सार्वजनिकरुपमा नै माफी माग्नुपर्ने बताएका छन् ।

उनी अहिले देउवाका नजिकका विश्वासपात्र हुन् ।

केसीले उठाएका प्रश्नमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमति जनाउँदै सरकार र पार्टीप्रति सकारात्मक सन्देश नगएको बताए ।

उनले कुराकानीमा पनि मन्त्री चयन र नियुक्तिमा फेरि पनि पुरानै गल्ती दोहोरियो भने समस्या पर्न सक्ने चेतावनी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *