काठमाडौं, १७ साउन–मेलम्ची खोलामा शनिबार रातिदेखि एक्कासि आएको बाढीले १३ वटा घर बगाएको छ । तीमध्ये सात पक्की र ६ कच्ची घर रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घरहरु गए रातिको बाढीले बगाएको हो । ती घरहरु खाली थिए ।
खोलामा लेदोसहितको बाढी आएको उनले बताए । “बाढी घट्ने, बढ्ने भइरहेको छ । लेदोसहितको बाढी आएका कारण कतै पहिरो खसेको हो कि भन्ने अनुमान गरेका छौँ । तर, ठ्याक्कै कहाँबाट यस्तो भयो भन्ने पत्ता लगाउन सकिएको छैन,” उनले भने ।
आफूहरुले सक्दो पहल गरिरहेको भए पनि घटनाबारे यथार्थ पत्ता लगाउन र थप क्षति हुन नदिन माथिल्लोस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।
अहिलेसम्म यो बाढीका कारण कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । नदी तटीय क्षेत्रका स्थानीयलाई शनिबार राति नै सुरक्षित स्थानमा जान सूचित गरिएको उनले बताए ।
बाढीले हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातो पुल पनि बगाएको छ । पुल बगाएपछि हेलम्बु गाउँपालिकासँगको सडक सम्पर्क टुटेको छ ।
बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । ग्यालथुममा रहेको एउटा झोलुंगे पुल बगाएको छ । ग्यालथुम बजारसमेत जोखिममा रहेको बताइएको छ । उक्त क्षेत्रमा ठूलो पानी भने नपरेको प्रहरीले स्रोतले जानकारी दियो । शनिबार राति सिमसिम पानी परेको बताइएको छ ।
