लमजुङ, १९ साउन–हिमाली जिल्ला मनाङमा १८ वर्ष माथिका ४ हजार १ सय ९८ जना नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने योग्य नागरिकको संख्या ४ हजार ५ सय अनुमान गरिए पनि ४ हजार १ सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड छ।
स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन्। स्वास्थ्य कार्यालय मनाङका अनुसार मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६ जना, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ जना र भेरोसिलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन्। मनाङ जिल्ला घर भइ जिल्ला बाहिर रहेका नागरिक खोप लगाउन आएमा उनिहरुलाई खोप लगाउने व्यवस्थासमेत स्वास्थ्य कार्यालय मनाङले मिलाएको छ।
मनाङमा ४ हजार ५ सय नागरिक खोप लगाउन योग्य भए पनि केहि मानिसहरु जिल्ला बाहिर बस्ने, रोजगारीको शिलशिलामा देश तथा विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १ सय ९८ भएको आचार्यले बताए। उनका अनुसार मनाङमा कोभिसिल्डको पहिलो डोज लगाएका १ सय ६५ जना भने दोस्रो डोज खोप लगाउन बाँकी छन्। पर्यटकको प्रमुख गन्तव्य मानिने मनाङमा आउने खोप नलगाएका पर्यटकले खोप लगाउन चाहे स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने व्यवस्था मिलाउने आचार्यले बताए।
असार १ को बाढीले मनाङमा मानवीय क्षति नभएपनि भौतिक संरचनामा ठूलो क्षति पुराएको छ। बाढीका कारण सडक, पुलमा क्षति पुगेकाले कोरोनाविरुद्धको खोप अभियानसमेत प्रभावित भएको थियो। सरकारले मनाङ जिल्लालाई बाढी संकटग्रस्त जिल्लासमेत घोषणा गरेको छ। मनाङमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्वको खोप अभियान संचालन गरिएको थियो।
