काठमाडौँ, २१ साउन–अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् ।
त्यसका निमित्त वैकल्पिक मार्ग आवश्यक भएको उनले बताएका छन् । पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा अध्यक्ष थापाले गणतन्त्र,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए ।
नेपालको राष्ट्रिय राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने भन्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित विकेन्द्रित शासन प्रणाली मुलुकका निमित्त आवश्यक भएको दाबी गरे ।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेतारकार्यकर्ता पार्टीको पुँजी भएको थापको भनाइ छ । इमानदारपूर्वक निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई उनले आग्रहसमेत गरेका छन् ।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न र स्वाधीनताको रक्षाका निम्ति राप्रपा बलियो हुनु अपरिहार्य भएको थापाको तर्क थियो ।
