काठमाडौं, २४ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको बताएका छन्।
प्रकृति विपद् संकटग्रस्त सिन्धुपाल्चोकको तर्फबाट सर्वदलीय समितिबाट ध्यानाकर्षण पत्र बुझेपछि प्रचण्डले भने, ‘सरकारले सिन्धुपाल्चोक र मनाङलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर, त्यसपछि हुनुपर्ने काम अघि बढेको छैन। हामी अहिले सरकारलाई पूर्णता दिने बैठकमा पनि छौँ। त्यसबारे छलफल गर्न म आज बालुवाटार जाँदैछु। मेरो ठाउँबाट हुनसक्ने सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु।’
बाढी आएलगत्तै मेलम्ची क्षेत्र जान चाहेको भएपनि प्राविधिक कारणले नमिलेको उनले सुनाए।
प्रचण्डले भने, ‘हिजो म मनाङको बाढी ग्रस्त क्षेत्रमा पुगेर आएँ। प्रधानमन्त्रीजी र माधव नेपालजी लगायतको टोली मेलम्ची क्षेत्रको अवलोकन गर्न मिलेसम्म छिट्टै जान्छौँ। त्यहाँ ठूलो क्षति भएको छ।’
बस्ती र बाटो बनाउन कहाँ सुरक्षित हुने भन्नेबारे अध्ययनपछि प्रक्रिया थालनी गर्ने प्रचण्डले बताए।
‘पहिरो आँधीहुरी अहिले विश्वव्यापी समस्या भएको छ। जलवायु परिवर्तनको कुरा पनि भएका छन्। कार्बन उत्सर्जन र वायुमण्डल प्रदूषणको कारणले पनि यस्ता घटनाहरू वृद्धि भइरहेका छन्,’ उनले भने।
मेलम्चीका बाढी पीडितको अवस्थाबारे प्रधानमन्त्रीसँग कुरा राख्ने उनले बताए।
