रुकुम पूर्व, ३० साउन–सल्यानको भेरी नदीमा एक पुरुषको र रुकुम पश्चिमको सानीभेरी नदीमा एक महिलाको शव भेटिएको छ। शव शुक्रबार भेटिएको हो।
साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको शव हुन सक्ने प्रहरीले अनुमान गरेको छ। पुथाउत्तरगंगा-१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता बिक उत्तरगंगा नदीमा बेपत्ता भएका थिए। शव पहिचानका लागि आफन्तलाई बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले बताए।
महिला र पुरुषको शव नदी किनारमा भेटिएकाले बेपत्ता भएका दम्पतीको हो कि भन्ने प्रहरीले बताएको छ। पुरुषको शव सल्यानको बनगाडकुपिन्डे नगरपालिकास्थित भेरी नदीको किनारमा फेला परेको छ।
महिलाको शव रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित सानीभेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
पुथाउत्तरगंगा-१४ स्थित त्रिवणीबाट अमृता बगेपछि बचाउन मनिचन नदीमा पसेका थिए। त्यसपछि दुवै जना बेपत्ता भएको स्थानीयका भनाइलाई उदृत गर्दै प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। उनीहरू गाउँबाट खाद्यान्न खरिदका लागि भनेर त्रिवेणी पुगेका थिए।
