काठमाडौं, ३० साउन–काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी गरियो । यसअघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो ।

यही साउन २८ देखि आगामी भदौ ८ गतेसम्मका लागि जारी आदेशमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्यस्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्छन्, ‘राति बीचबाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भिडभाड बढेको पाइयो । यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो ।’

स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड–१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो । अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना संक्रमण दरमा वृद्धि भएसँगै काठमाडौं, ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताउँछन् । उनका अनुसार यसरी आंशिक वा पूर्ण रूपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् । मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ

कोरोनाको दोस्रो लहर सुरुवात भएलगत्तै गएको वैशाख ७ गते नै सीमित क्षेत्र तोकेर निषेधाज्ञा लगाउने पहिलो जिल्ला बागलुङले समेत अघिल्लो हप्ताबाट थप कडाइ गर्न थालेको छ । पछिल्ला दिनमा कोभिड-१९ को संक्रमण वृद्धि हुँदै गएको निष्कर्ष निकाल्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा यही साउन २६ गतेको निर्णयले बिहान १० बजेसम्म मात्र अत्यावश्यक सामग्री खरिद–बिक्रीका लागि समय तोकेको छ ।

उक्त जिल्लामा अन्य गतिविधिसमेत बार तोकेर सञ्चालनको अनुमति दिइएको छ । अघिल्लो साता २०० जना नयाँ संक्रमित देखिएकामा त्यसको पछिल्लो हप्ता नयाँ संक्रमित ५०० पुगेको थियो । त्यसैले अहिले जिल्लामा परीक्षणको दायरा समेत बढाएर नियन्त्रणको काम तीव्र पारिएको निमित्त प्रजिअ गणेश गौतमले जानकारी दिए । बागलुङमा आज सक्रिय संक्रमितको संख्या ७२० छ ।

दोस्रो लहरको समयमा सबैभन्दा प्रभावित भएको बाँके जिल्लामा वैशाख १३ गते निषेधाज्ञा जारी गरिएको थियो । बाँके दोस्रो लहरको कोरोना संक्रमणका बेला निषेधको आदेश जारी गर्ने दोस्रो जिल्ला हो । बाँकेमा पछिल्लो समयमा कोरोनाका बिरामीसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

यही साउन २२ को निर्णयानुसार मानिसको भिडभाडका कारण सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्न सक्ने जोखिम बढेको जनाउँदै बाँकेका प्रजिअ शिवराम गेलालले पूर्वजारी आदेशबमोजिम निषेध गरिएका गतिविधि नगर्न÷नगराउन सचेत गराएका छन् ।

यसपछि तेस्रो नम्बरमा (वैशाख १४ गते) निषेधको आदेश जारी गर्ने सुर्खेत जिल्लामा पनि कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालिएको छ । सुर्खेतमा साउन २२ को निर्णयानुसार जिल्लामा तरकारी, दूध, फलफूल खरिदका लागि बिहान ६ देखि ७ बजेसम्म र खाद्यान्न खरिद–बिक्रीका लागि बिहान ७ देखि ८ बजेसम्मका लागि पसल खोल्न अनुमति दिइएको छ ।

झापा जिल्लामा अझै एक कदम अघि बढेर आदेश जारी गरिएको छ । साउन ३२ सम्म जारी आदेशमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमै रोक लगाइएको छ । सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगत गरिएको छ भने अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयलाई पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन भनिएको छ । अन्य अत्यावश्यक सामग्री ढुवानीका साधन भने समय तोकेर सञ्चालन गर्न सकिने जनाइएको छ ।

चितवनमा पनि संक्रमितको संख्या र संक्रमणदर वृद्धि भइरहेकाले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरिसकेको छ । यी केही प्रतिनिधिमूलक जिल्ला हुन् ।

अहिले पनि मुलुकका ५७ जिल्लामा निषेधाज्ञा जारी गरी कोभिड–१९ नियन्त्रणका गतिविधि सञ्चालन भइरहेको छ । प्रायः जिल्लामा कोभिडका बिरामीको चाप बढ्दै गएको निष्कर्षका साथ त्यसको नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलले कोरोना जोखिम आँकलन गरेरै स्वास्थ्य मन्त्रालयले पठाएको सूचनाका आधारमा गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताए । कोरोनाको पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न भनिएको हो ।

गृहले अद्यावधिक विवरण यकिन गरी दैनिक रूपमा विवरण पठाउन र अस्पतालको अनुगमन र सुपरिवेक्षण गर्न पनि निर्देशन दिइसकेको छ । उनका अनुसार केही जिल्लाले सवारी नै सञ्चालन गर्न रोक लगाएर आदेश जारी गरिसकेका छन् ।

विगतको अनुभव हेर्दा निषेधको आदेशले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको स्वास्थ्यविज्ञले बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी संक्रमण रोक्न निषेधको आदेश महत्वपूर्ण ‘टुल’ भएको नेपालको विगतको उदाहरणले नै देखाउने बताउँछन् ।

सरकारले आवश्यकता हेरी निषेधको आदेश जारी गर्ने अधिकार प्रजिअलाई नै दिएका कारण स्थानीय प्रशासनले संक्रमणको अवस्थाको आधारमा आदेश कडाइ र खुकुलो बनाउँदै आएका छन् । गृहमन्त्री बालकृष्ण खाँडले कोरोनाको तेस्रो लहर आएमा बिरामीले अस्पतालको बरन्डा समेत नपाउने अवस्था सिर्जना हुनेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराइसकेका छन् ।

एक हजारदेखि दुई हजारको हाराहारीमा दैनिक संक्रमण देखिँदै आएकामा पछिल्ला केही हप्तामा बढेर दुईदेखि चार हजारको हाराहारीमा संक्रमित देखिन थालेका छन् । योबीचमा एक दिनमा पाँच हजार बिरामी र एक दिन ५५ जनाको समेत मृत्यु भएको विवरण आएको थियो । दोस्रो लहर कम भएको पछिल्ला केही हप्तामा यो उच्चतम संक्रमण र मृत्यु संख्या हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *