झापा, १ भदौं–झापामा विगत दुई सातादेखि जारी निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले मंगलबार बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।
अत्यधिक भीडभाड हुने खाद्यान्न, तरकारी, माछामासुलगायत अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान ६ देखि बिहान १० बजेसम्म मात्र खोल्न दिइने प्रमुख जिल्ला अधिकारी तिमिसनाद्वारा जारी आदेशमा उल्लेख छ । यातायातका साधन भने दिनभर चलाउने पाइने छ । सवारी साधनलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको छ ।
प्रजिआको आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ । बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने छ ।
हाटबजार, भेला, जुलुसजस्ता भीडभाड हुने कार्यक्रम गर्न प्रशासनले निषेध गरेको छ । होटल तथा लज कूल क्षमताको ५० प्रतिशत मात्रै सञ्चालन गर्न र हरेक दिन निःसङ्क्रमण गर्न प्रशासनले आदेश दिएको छ ।
यसअघि झापामा कोभिड संक्रमण बढेपछि पूर्णरुपमा निषेधाज्ञा लागू गरिएको थिया । लगातार निषेधाज्ञा हुँदा व्यवसायीले निषेधाज्ञा हटाउन दबाब दिँदै आएका थिए ।
यसअघि उद्योग वाणिज्य सङ्घका अध्यक्षले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई भेटी निषेधाज्ञा खुलाउन मागपत्र समेत पेश गरेका थिए ।
