काठमाडौं, २ भदौं–वायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । जर्मन च्याम्पियन वायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो ।
मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै वायर्न च्याम्पियन बन्यो । वायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो ।
यता, डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । लेवान्डोस्कीले खेलको ४१ औं मिनेटमा गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा मुलरले गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।
७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३–१ को जित दिलाए ।
