काठमाडौं, ३ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्ला राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि फेरि प्रश्नचिह्न लागेको बताएका छन्।

पात्र मात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकाले व्यक्तिको साटो व्यवस्था, नेताको साटो नीति र चालकको साटो बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पुनर्विचार हुनुपर्ने बताए।

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणाली कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाएको भन्दै सरकारको पछिल्लो कदमको कडा आलोचना गरे। सत्तारूढ दल कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको उनको कथन थियो।

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग बिहीबार आयोजना गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशनसँगै स्थानीय निकाय निर्वाचनसम्बन्धी बिशेष कार्ययोजना प्रस्तुत गरे। आगामी दिनमा क्षेत्र, नगर, वडासँगै प्राथमिकतामा राखी बुथ कमिटी गठन गर्नुपर्नेमा उनले जोड दिएका थिए। उनले प्रशिक्षण, घरदैलो, जनतामाझ राप्रपा अभियान र जनपरिचालन सघन तवरबाट सञ्चालन गर्नुपर्ने बताए।

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख, नगर अध्यक्ष, स्थानीय निर्वाचनका उम्मेदवार, निर्वाचित जनप्रतिनिधिको सहभागिता रहेको पार्टीका सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए। विभिन्न चरणमा यस्ता बैठक सञ्चालन गरिने राप्रपाले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *