काठमाडौं, ५ भदौं–आफ्ना १४ सांसदमाथिको कारबाहीको सूचना टाँसमा ढिलाइ गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्नि सापकोटामाथि अस्वाभाविक र अमर्यादित दबाब बनाएको छ । विपक्षी दलले सभामुखमाथि अनुचित दबाब बनाएको सत्तारुढ दलको भनाइ छ ।
१ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार संसद्ले सूचना जारी गरेपछि एमालेले कारबाही गरेका सांसदको पद रिक्त हुन्छ । यसका लागि सभामुखले १५ दिनभित्र निर्णय लिनुपर्ने हुन्छ । तर, एमालेले पत्र दर्ता गराएकै दिनदेखि सभामुखमाथि दबाब दिइरहेको छ ।
सार्वजनिक कार्यक्रम र भेटेरै पनि एमालेका सांसदहरूले सभामुखलाई छिटो सूचना टाँस गर्न दबाब दिइरहेका छन् । बिहीबार एमाले सांसद र सभामुखबीच सूचना जारी गर्ने विषयमा विवाद भएको थियो ।
शुक्रबार पनि सभामुखको कार्यकक्षमा पुगेका एमाले सांसदहरूले सभामुखलाई दबाब दिएका थिए । सांसद महेश बस्नेतले भने, ‘उहाँले त्यो प्रक्रिया कहाँ पुर्याउनुभयो, के गर्नुभयो भनेर हामी ताकेता गर्न आएका हौँ । एक ढंगले धर्नाकै हिसाबले आएका हौँ ।’
