एजेन्सी, ९ भदौं–शाहीन शाह अफ्रिदीले समग्रमा दश विकेट लिएपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा १०९ रनको विजयी नतिजा निकालेको छ । यससँगै दुई खेलको टेष्ट शृंखला १-१ को बराबरीमा टुंगिएको छ ।

३२९ रनको लक्ष्य पाएको वेष्ट इन्डिजले ४९/१ को स्थितिबाट अन्तिम दिन थालेको थियो । पाँचौं दिन वेष्ट इन्डिजले २१९ रन बनाउँदा सबै विकेट गुमायो । दोस्रो इनिङ्समा वेष्ट इन्डिजका लागि जसोन होल्डरले ४७ रन बनाए । क्राइग ब्रेथवाइट ३९, काइल मेयर्सले ३२, जर्माइन ब्लाकउडले २५, करिन पोवेलले २३ रन बनाए ।

जमैकाको सविना पार्कमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ९ विकेट गुमाएर ३०२ रन बनाउँदा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। पहिलो इनिङ्समा पाकिस्तानका फवाद आलमले अविजित १२४ रन बनाएका थिए ।

कप्तान बाबर आजमले ७५, मोहम्मद रिजवानले ३१ र फहीम अश्रफले २६ रन बनाए। वेष्ट इन्डिजका केमर रोच र जेडान सिल्सले समान तीन विकेट लिए । होल्डरको नाममा दुई विकेट रह्यो ।

अफ्रिदीले ५१ रन दिएर ६ विकेट लिनुका साथै माहेम्मद अब्बासले तीन विकेट लिएपछि वेष्ट इन्डिजले पहिलो इनिङ्समा १५० रन बनाउँदा सबै विकेट गुमायो ।

पाकिस्तानले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १७६ रन बनाउँदा इनिङ्स समाप्तिको घोषणा गर्यो । त्यसपछि वेष्ट इन्डिजले ३२९ रनको लक्ष्य पाएको हो ।

यसअघि गतसाता सम्पन्न पहिलो टेस्टमा पाकिस्तानलाई एक विकेट हराउँदै वेस्ट इन्डिजले शृंखलामा १–० को अग्रता लिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *