काठमाडौं, १४ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी ‘दक्षिणपन्थी अवसरवादी’ पार्टी भएको बताएका छन् ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर फर्किएका खनालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण नयाँ पार्टी निर्माण गर्नुपरेको बताए ।
‘केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवादी पार्टी हो’, खनालले भने, ‘नेकपा एमाले त हाम्रो रगत र पसिनाले निर्माण गरेको पार्टी हो । तर, केपी ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिनु भयो । त्यसैले एउटा क्रान्तिकारी पार्टीको आवश्यकता पर्यो ।’
उनले निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व नहुने बताए । ‘झापा विद्रोह सानो संख्याले शुरु गरेको थियो । त्यसलाई हत्या गर्न खोज्दा देशभर डढेलो लाग्यो’, खनालले भने, ‘अहिले पनि संख्या कति छ, त्यो महत्वको विषय होइन । क्रान्ति इमान्दारी र प्रष्टताका साथ शुरु गरेपछि सफल हुन्छ ।’
‘भारी मन लिएर भारत गएको थिएँ, ओली सरकार ढलेको सुनेपछि मन हल्का भयो’
नेकपा का वरिष्ठ नेता झलनाथ खनालले ओली सरकार ढलेको खबरले मन हलुङ्गो भएको बताएका छन् । भारतबाट उपचार गराएर फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा बोल्दै ओलीको दक्षिणपन्थी अधिनायकवादी कदमले देश दुर्घटनाको संघारमा भारी मन लिएर भारत गएको तर पछि सर्वोच्च अदालतको फैसलाले दक्षिणपन्थी अवसरवाद र प्रतिगनम असफल पारिदिएपछि मन हलुङ्गो भएको बताए ।
‘म उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको थिएँ । देशलाई अधिनायकवादको दुर्घटनाको मुखमा धकेलेर हाम्रो पार्टीलाई दक्षिणपन्थी भासमा धकेलिएको थियो’, खनालले भने, ‘सर्वोच्च अदालतले केपी ओली सरकार ढालेर दक्षिणपन्थी कदलम सच्याइदिएको खबरले मन हलुङ्गो भयो ।’ उनले ओलीले कम्युनिस्ट सरकार ढालियो भन्दै झार्ने आशुँको कुनै मूल्य नभएको पनि बताए ।
‘कम्युनिस्ट सरकार ढालियो भनेर केपी ओलीले आँशु नझार्दा हुन्छ । किनभने उनले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी एमाले र सिंगो देशलाई प्रतिगमनमा धकेलिसकेका थिए’, खनालले भने, ‘उनको सरकार ढल्नु भनेको अग्रमनको रक्षा हो, लोकतन्त्र र संविधानको पनि रक्षा हो ।’
अब कुनै कार्यकारी पद नलिने घोषणा
भारतमा मृगौला प्रत्यारोपण गरेर फर्किएका झलनाथ खनालले आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनप्रति समर्पित रहने बताएका छन् ।
भारतको एपोलो अस्पतालमा उपचार गराएर फर्किएका वरिष्ठ नेता खनालले आफ्नो जीवन ‘बोनस’ को जीवन भएको भन्दै देश, राष्ट्रियता र नेपाली मोडलको समाजवाद निर्माणका निम्ति खर्चिने बताए ।
आफ्नो लिखित वक्तव्य अरूलाई पढ्न दिएका खनालले आफू बाँकी जिवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् । ‘यसै पनि ७१ वर्ष पार भएको छु, अब मेरो बाँकी जीवन बोनसको जीवन हो’, खनालले भने, ‘त्यसैले मेरो बाँकी जीवन देश, राष्ट्रियता, लोकतन्त्र र नेपाली मोडलको समाजवाद निर्माणमा लगाउँछु ।’
