काठमाडौं, १७ भदौं–पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । रोनाल्डोले इरानका अली दाईको कीर्तिमानलाई तोड्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

विश्वकप छनोटमा आयरल्यान्डमाथि २–१ को जित निकाल्ने क्रममा रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेका थिए । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १११ पुगेको छ । जुन अली दाईको भन्दा दूई गोलले बढी हो ।

गएराति रोनाल्डोले १५औं मिनेटमा पाएको पेनाल्टी अवसरमा गोल गर्न चुकेका थिए । आयरल्यान्डले ४५औं मिनेटमा जोन इगनको गोलबाट अग्रता लियो । हार नजिक रहेको पोर्चुगलले ८९औं मिनेटमा रोनाल्डोको गोलबाट बराबरी गर्यो । यससँगै उनले अलीको कीर्तिमान भङ्ग गरे । कप्तान रोनाल्डोले इन्जुरी समयमा अर्को गोल थपेपछि पोर्चुगलले तीन अंक पक्का गर्यो । रोनाल्डोले दुवै गोल हेडमार्फत गरेका थिए ।

‘‘म धेरै खुसी छु । मैले कीर्तिमान तोडेर होइन की देशका लागि पनि महत्त्वपूर्ण क्षण रह्यो,’’ म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले भने, ‘‘प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा दुई गोल गर्न सक्दा हामीले तीन अंक पक्का गर्यौं । टिमले गरेको प्रदर्शनको सम्मान गर्नुपर्छ । हामीले अन्तिमसम्म हिम्मत हारेनौं ।’’

३६ वर्षे उनले मंगलबार मात्र इटालियन क्लब युभेन्टसबाट इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेड आएका थिए । पोर्चुगलबाट रोनाल्डोको यो १८०औं खेल हो । रोनाल्डोले २००३ मा पोर्चुगलबाट डेब्यू गरेका थिए । उनको यो कीर्तिमानी यात्रामा पहिलो गोल २००४ को युरोपियन च्याम्पियनसिपको समूह चरणमा ग्रिसविरुद्ध गरेका थिए । उक्त खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय फुटबलमा दुई खेलाडीले मात्र एकसय गोलभन्दा धेरै गोल गरेका छन् । १९९३ देखी २००६ सम्म इरानबाट खेलेका अली दाईले १४९ खेलमा १०९ गोल गरेका हुन् । अली दाईले जर्मन क्लब बायर्न म्युनिख र हेर्था बर्लिनबाट क्लब फुटबल खेलेका थिए ।

महिलातर्फ भने क्यानाडाकी क्रिस्टिन सिनक्लेरले १८७ गोलसहित सबभन्दा अगाडि छिन् । उनले गत टोकियो ओलम्पिकमा उक्त आँकडा बनाएकी हुन् । सिनक्लेरले क्यानडाबाट स्वर्ण पदक जितेकी थिइन् ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २०१६ को युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । यसै सम्पन्न युरोपियन च्याम्पियनसिपमा रोनाल्डोले चार खेलमा पाँच गोल गरेका थिए । तर, पोर्चुगल भने अन्तिम–१६ बाटै बाहिरिएको थियो ।

यससँगै रोनाल्डो युरोपियन च्याम्पियनसिपको फरक पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए । त्यस्तै, उनले युरोपियन च्याम्पियनसिपमा सबैभन्दा धेरै गोल गर्ने मिचेल प्लाटिनीको कीर्तिमान तोडेका थिए । प्लाटिनीको नाममा ९ गोल छ भने रोनाल्डोले ११ गोल गरिसकेका छन् ।

रोनाल्डो यूईएफए च्याम्पियन्स लिगमा पनि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले १३४ गोल गरिसकेका छन् । जुन चीर प्रतिद्वन्द्वी लियानल मेसीको भन्दा १४ गोल बढी हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *