बिर्तामोड, १७ भदौं–बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पताल प्रशासनले उपचार खर्च तिर्न नसकेर एक दम्पतिलाई बन्धक बनाएको भनी प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।

समाचारमा उल्लेखित बिरामीहरुसमेतको सहभागितामा आज पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले उक्त समाचारको सत्यता माथि प्रश्न उठाएको हो । राजधानीबाट प्रकाशित केही सञ्चारमाध्यमले दुर्घटनामा घाइते भएका झापा शिवसताक्षी-२ का यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनमलाई अस्पतालले उपचार खर्च तिर्न नसकेपछि बन्धक बनाएको समाचार प्रकाशन गरेका छन् ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिश गिरीले श्रेष्ठ दम्पतिलाई अस्पतालले बन्धक बनाएको छैन बरु उहाँहरुलाई स्वास्थ्यवर्धक पोशिलो खानेकुरा दिइरहेका छौं भनेका छन् । ‘उहाँहरुलाई ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नआएको र घटनाका विषयमा प्रशासनमा मुद्दासमेत चलिरहेकाले उहाँहरु यहीँ बस्नु भएको हो’ गिरीले भने, ‘पैसा तिर्न नसकेर अस्पतालले बन्धक बनाएको भन्ने खबर गलत हो ।’

ट्रक दुर्घटनामा घाइते भएर अस्पतालमा उपचाररत दम्पतीले पनि अस्पतालले बन्धक बनाएको भन्ने समाचार आफैँमा गलत भएको जनाएका छन् । घाइते यामबहादुरका भाइ खेमबहादुरले भने ‘दाजु भाउजुको ज्यान बचाउन अस्पतालले खेलेको भूमिका हाम्रो लागि एउटा खुसीको क्षण हो, बी एण्ड सीले गर्दा नै आज दाजुभाउजु मृत्युको मुखबाट फर्किनु भएको छ ।’

सञ्चारमाध्यममा श्रेष्ठ दम्पति बन्धक बनाइएको समाचार आएकोप्रति आपत्ति जनाउँदै उनले समाचार प्रकाशनका लागि कहीँकतै कसैसँग सोधिएको छैन र हामीले पनि अनुमति नदिएको खेमबहादुरले बताए । ‘ठक्कर दिने ट्रक मालिक सम्पर्कमा नरहेको र प्रशासनमा मुद्दा चलिरहेकाले हामी आफैँ दवावका लागि अस्पतालमा बसिरहेका छौँ’ उनले भने ‘मुद्दा टुङ्गिनासाथ निस्कन सक्छौँ । अस्पतालले रोकेको छैन ।’

पीडितका मामा कृष्णकुमार राईले पीडित परिवारले अनुमति बिना नियोजित रुपमा समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाए ।

गत फागुन १९ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत झापाको कनकाईमा को १ ख १६८४ नम्वरको ट्रकले प्रदेश १–०१–००१ च ०१६७ नम्बरको कार र प्रदेश १–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ट्रक बिराटनगरस्थित रिजाल ग्याँस उद्योग हो ।

घटनापछि उद्योगका तर्फबाट पीडितको उपचारका लागि डेढलाख रुपैयाँ जम्मा भएको थियो । त्यसयता लामो समयदेखि उद्योगपक्ष अस्पताल र विरामीको सम्पर्कमा छैन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *