काठमाडौं, २० भदौं–आइतबार घरेलु मैदान दशरथ रंगशालामा भएको भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल २–१ ले पराजित भयो । नेपालले पहिलो हाफमा पाएको गोलका केही राम्रो अवसर खेर फाल्दा अग्रता लिने राम्रो अवसर खेर फालेको थियो । दोस्रोमा सुधारिएको प्रदर्शन गरेको भारतले ६२औँ मिनेटमा वैकल्पिक खेलाडी फारुख चौधरीको गोलबाट अग्रता लियो ।

चिङलेनसेनाको लामो क्रसमा कप्तान सुनिल क्षेत्रीले दिएको हेडिङ पासलाई नियन्त्रणमा लिदै फारुखले बललाई पोस्टको दिशा दिएका थिए । फारुख दोस्रो हाफको सुरुमै विपिन सिंहको स्थानमा मैदान छिरेका थिए । मैदान छिने वित्तिकै आफ्नो प्रभाव जमाउन सफल फारुखले भारतलाई अग्रता दिए ।

सुनिलले ८१औँ मिनेटमा गरेको गोलमा भारतले अग्रता दोब्बर बनायो । लगभग मध्यभागमा अनिरुद्ध थापाले हेडमाफर्त दिएको पास नियन्त्रणमा लिदै अघि बढेका सुनिलले ‘वान भर्सेस वान’मा सहज गोल गरेका थिए ।

निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा तेज तामाङले गरेको गोलबाट नेपालले खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । तेजले झन्डै ३० यार्डबाट हानेको लामो प्रहारलाई भारतका गोलकिपर अमरिन्दर सिंहले ठम्याउन सकेनन् ।

पहिलो खेलमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो ।

भारतसँग पराजित भएनपनि नेपाली समर्थकले भने नेपाली टिमको खुलेरै समर्थन गरिरहेका छन् । विगतभन्दा नेपालको प्रदर्शनमा सुधार देखिएको भन्दै उनीहरूले नेपाली खेलाडी र प्रशिक्ष अब्दुल्लाह अल्मुताइरीको तारिफ गरिरहेका छन् ।

प्रशिक्षक अल्मुताइरीले नेपालले साफका लागि पर्याप्त नभएपनि सुधारिएको प्रदशर्न गरेको बताए । भारतीय प्रशिक्षक इगोर स्टिम्याच पनि नेपालले धेरै सुधार गरेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *