काठमाडौं, २६ भदौं–नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
१०८ओैं विपी जयन्तीको अवसर पारेर विपी संग्राहलय सुन्दरीजल काठमाडौंमा आयोजित एक विशेष समारोहबीच १ बजेर २० मिनेटको शुभसाइतमा १४ ओैं महाधिवेशनमा पार्टी महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
शर्माले पार्टीको आगामी मंसिरमा हुने महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारी लिएर आगामी स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेसलाई विजय गराउने संकल्प गरेको बताए।
संग्राहलय परिसरमा रूद्राक्षको विरूवा रोपेर प्रवक्ता शर्माले बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइले जेल जीवन व्यतित गरेको सुन्दरीजल बन्दी गृहलाइ साक्षी राखेर पार्टीको महामन्त्री बनेर पार्टीलाइ बलियो बनाउने प्रण गरे।
भदौं २६ गते शनिबार पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदवारीको ओैचित्य र एजेन्डाका बारेमा प्रष्ट पार्ने शर्माले बताएका छन्। उनले महाधिवेशनमा कुन गुट वा समूहबाट उम्मेदवारी दिने भन्ने विषयमा भने केही खुलाएनन्।
लामो समयदेखि पार्टीको पुरानो संस्थापन अर्थात गिरिजाप्रसाद कोइराला र शुशिल कोइराला पार्टी सभापति हुँदा सोही समूहबाट राजनीति गर्दै आएका शर्मा गत १३औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलबाट पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
सभापति देउवाले दुई वर्षअघि मात्र शर्मालाई पार्टी प्रवक्तामा नियुक्त गरेका थिए।
