गुल्मी, ३० भदौं–नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले एमालेलाई सबैतिरबाट घेराबन्दीमा पारिएको बताएका छन् ।
नेकपा एमाले गुल्मीले बुधबार तम्घासमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालत, निर्वाचन आयोग र सभामुख सबै मिलेर एमालेलाई घेराबन्दीमा पारेको बताएका छन्।
वर्तमान गठबन्धन सरकार जनताको काम गर्नका लागि नभएको भन्दै उनले एमालेका विरुद्धमा भएको आरोप समेत लगाए । उनले अहिलेको गठबन्धन स्वभाविक नभएको टिप्पणी गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान गठबन्धन कायम नरहने हो की भन्ने चिन्ताले सताउने गरेको उनको भनाइ छ। अहिले प्रचण्डलाई वर्तमान गठबन्धन निर्वाचनसम्म कायम नरहे आफनो हबिगत थाहा हुने भएकाले ठूलो चिन्ता रहेको पनि बताए ।
केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गरेको दाबी गर्दै ज्ञवालीले ओली नेतृत्वले गरेका कामहरूलाई उल्ट्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाए ।
देशमा एमाले पार्टी विभाजनको समयमा गुल्मेली जनताहरु एकताको पक्षमा रहेर पार्टीमा रहनु एमालेप्रतिको जनविश्वास रहेको दाबी गरे । आफू अहिले गुल्मेली एमालेजनहरु चट्टान जस्तै गरी एमालेमै रहँदा आफूलाई खुसी लागेको समेत उनले बताए ।
