कास्की, ५ असोज–नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले एमाले फुटेको नभई काँचुली फेरेको बताएका छन् ।
प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बास्कोटाले बसन्त याममा रुखले नयाँ पालुवा फेरे जस्तै माधव नेपालहरु बाहिरिएसँगै एमालेले पनि काँचुली फेरेको बताए । ‘एमाले फुटेको होइन, बरु काँचुली फेरेको हो, जसरी हरेक वसन्तमा रुखले पालुवा फेर्छ त्यसरी नै एमालेले माधव नेपाल समुह बाहिरिएपछि काँचुली फेरेको छ ।’
नेता बास्कोटाले नेकपा एकीकृत ९समाजवादी० का अध्यक्ष माधव नेपाल देशद्रोही र पार्टीद्रोही भएको आरोप लगाए । ‘एउटा उचाईमा पुगेको पार्टीलाई फुटाउने माधव नेपाल राष्ट्रद्रोही हो, पार्टीद्रोही हो,’ उनले भने । नेपाल बेइमानी र पाखण्डी भएको भन्दै उनले पार्टी छाडेर जानका निम्ति मात्र प्रतिगमन रोक्न भन्दै माधव नेपालहरुले आन्दोलन गरेको आरोप लगाए ।
माधव नेपालहरुले नयाँ पार्टी बनेपछि यो चुनावसम्मका लागि मात्र भएको उनले दाबी गरे । ‘माधव नेपालको पार्टीको अस्तित्व छैन, उनले भने, ‘यो पार्टी घाम नझुल्किएसम्मका लागि मात्र हो, शीत जस्तै घाम झुल्केपछि यो आफै बिलाएर जान्छ ।’ अहिले समग्रमा ९.७४ प्रतिशत कार्यकर्ताले एमाले छाडेको भन्दै चुनावमा पुग्दा यो १ प्रतिशतमा झर्ने उनले दाबी गरे ।
चुनावमा हारेपछि माधव नेपालको पार्टीको अस्तित्व नरहने उनको दाबी छ । ‘माधव नेपाल कहाँ जान्छन् त्यो चुनावपछि हेरौंला, तर उहाँका पछि लागेकाहरु एमालेमै फर्किन्छन्,’ उनले भने ।
