काठमाडौं, ७ असोज–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बैठक बस्न लागेको हो । मंगलबारदेखि बैठक जारी छ ।
आजको बैठकबाट पार्टीका महासचिव चयन हुने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकबाट केन्द्रीय कमिटी, पोलिटब्युरोलगायत कमिटी विस्तार पनि गरिनेछ ।
पार्टीका महासचिवका लागि नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, डा। विजय पौडेललगायतले दाबी गरेका छन् । आजकै बैठकबाट महासचिव टुंगो लाग्ने सम्भावना भने कम रहेको एक नेताले बताए ।
“महासचिव आज छान्ने त भनिएको हो । तर, आजै टुंगिने सम्भावना कम छ । आजको बैठकले स्थायी कमिटीलाई जिम्मा लगाउने कुरा छ । उहाँहरूले नै टुंग्याउनुहुन्छ,” ती नेताले भने ।
उनका अनुसार दाबेदारीमा केही नेताहरू रहे पनि भुसाल र पाण्डेमध्ये एकजना महासचिव बन्नेछन् ।
“महासचिवका लागि राजेन्द्र पाण्डेको सम्भावना प्रबल छ । उहाँलाई बनाउनुपर्छ भन्ने पनि हो । वेदुराम कमरेडले पनि चासो राख्नुभएको छ । उहाँहरूमध्ये एकजना बन्नुहुन्छ,” ती नेताको भनाइ छ ।
त्यस्तै, केन्द्रीय कमिटी २४१ देखि २५१ सदस्यीय बन्ने उनले जानकारी दिए ।
“केन्द्रीय सदस्य बनाउँदा हामी सचेत छौँ । सदस्य बनाउँदा विवाद नहोस् भन्ने चाहेका छौँ । आज संख्या टुंगो लाग्छ । कमिटीको नाम फाइनल हुने सम्भावना कम छ । केन्द्रीय कमिटी २४१ देखि २५१ सदस्यको बन्नेछ,” ती नेताले भने ।
