काठमाडौं, ११ असाज–पछिल्लो समय खराब लयबाट गुज्रिरहेको आर्सनलले आज इङ्लिस प्रिमियर लिगको नर्थ लन्डन डर्बीमा टोटनह्याममाथि ३–१ को सहज विजय हासिल गरेको छ ।
घरेलु मैदान इमिरेट्स रंशगालामा आर्सनलले पहिलो हाफमै तीन शून्यको अग्रता लिएको थियो । घरेलुले इमिल स्मिथ–रोवेको गोलबाट अग्रता लिएको थियो । उनले बुकायो साकाको पासमा गोल गरेका थिए । स्मिथ–रोवेको पासमा पिइरे इमेरिक–औबमेयाङले २७औँ मिनेटमा अग्रता दोब्बर बनाए । साकाले ३४औँ मिनेटमा आफैँले गोल गर्दै आर्सनलको अग्रता बढाए ।
खेल सकिन ११ मिनेट बाँकी हुँदा ह्युङ मिन–सनले गोल गरे पनि भ्रमणकारी टोटेनह्यामलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो । आर्सनलले लिगमा टोटेनह्याममाथि लगातार विजय हसिल गरेको २०१४ पछि यो पहिलोपटक हो ।
लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । यसअघि आर्सनलले नर्विच सिटी र बर्नलीलाई हराएको थियो । त्यस्तै काराबाओ कपमा विम्बल्डनलाई पनि ३–० ले हराएको थियो ।
जितसँगै ६ खेलबाट ९ अंक जोडेको आर्सनल दशौं स्थानमा छ । समान खेलबाट समान अंक जोडेको टोटेनह्याम ११औँ स्थानमा छ ।
लिगमा टोटेनह्यामको यो लागतार तेस्रो हार हो । टोटेनह्याम यसअघि क्रिष्टल प्यालेस र चेल्सीसँग समान ३–० ले पराजित भएको थियो । त्यस्तै, टोटेनह्याम २९ अगष्टपछि जितविहीन छ ।
टोटेनह्यामले जित हासिल गर्न नसकेको यो पाँचौं खेल हो । काराबाओ कपमा टोटेनह्यामले उल्भरह्याम्पटनसँग २–२ र युरोपा कन्फेरेन्स लिगमा रेनर्ससँग २–२ को बराबरी खेलेको थियो ।
