विराटनगर, १४ असोज–शनिबार हुने महानगर अधिवेशनमा विराटनगरमा नेपाली कांग्रेसका आकांक्षी उमेदवारको ओइरो लागेको छ । कांग्रेस १४ औं महाधिवेशनको सन्दर्भमा मोरङमा शनिबार पालिकास्तरमा अधिवेशन हुँदैछ । एक महानगरसहित १७ पालिकामा हुने चुनावमा प्रमुख पदमा आकांक्षीको संख्या बढ्दो देखिएको छ ।
विराटनगर महानगरपालिकाको पार्टी नेतृत्त्वमा पुग्न सभापतिमा मात्रै पाँचजनाले उमेदवारी घोषणा गरेर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उपसभापति पदमा तीन, सचिवमा चार र सह–सचिवमा तीन जनाले उमेदवारी घोषणा गरी मत मागिरहेका छन् । कतिपयले सामाजिक संजालहरुबाट समेत चुनावी अभियान अघि बढाएका छन् ।
सात सदस्यीय महानगर समितिमा एक सभापतिसहित, उपसभापति, सचिव र सहसचिवका दुईदुई जना विजयी हुन्छन् । शनिबार हुने निर्वाचनका लागि उमेदवारी दर्ता गराउने तालिका प्रकाशित भइसकेको छ ।
विराटनगरमा कांगे्रस सभापति शेरबहादुर देउवा पक्षका एकजना उमेदावर देखिएका छन् भने नेता रामचन्द्र पौडेल खेमाबाट चार जना छन् । मोरङबाट केन्द्रमा प्रतिनिधित्त्व गर्ने केन्द्रीय नेताहरुको समर्थनमा उमेदवार बन्न चाहनेहरुलाई मिलाउन पौडेल पक्षलाई केही सकस देखिएको छ । केन्द्रीय सभापतिका उमेदवार डा। शेखर कोइराला कांग्रेस चुनावकै सन्दर्भमा विराटनगरमै छन् । प्रदेश नं १ को राजधानीसमेत भएकोले यो पटक विराटनगर कांग्रेसको नेतृत्त्वलाई अझ महत्वकासाथ हेरिएको सभापति भीम पराजुली बताउँछन् ।
सभापतिको लागि अरुण न्यौपाने, कृष्ण कार्की, प्रकाश दाहाल, दीपक चापागाईं र सन्तोष न्यौपाने चुनावी मैदानमा छन् । अरुण महानगर समितिका कार्यवाहक सभापति हुन् । कार्की नेविसंघका पूर्वसहमहामन्त्री, दाहाल महानगर समितिका सचिव, चापागाईं अघिल्लो पटक सभापतिमा पराजित उमेदवार हुन् । उनी पार्टी राजनीतिमा लामो समयदेखि सक्रिय छन् । सन्तोष नेविसंघको राजनीतिबाट तरुण दल महानगर समितिको सभापति भइ काम गरेका छन् ।
सभापति देउवा पक्षबाट सन्तोष मात्र उमेदवार देखिएका छन् । उनलाई कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको समर्थन रहेको छ । पौडेल पक्षबाट धेरै उमेदवार भएकाले उनीहरुलाई मिलाएर एक जनामात्र उमेदवार बनाउने प्रयासमा नेताहरु लागि परेका छन् । पटकपटक छलफल भए पनि को उमेदवार बन्ने भन्ने टुंगो लाग्न सकेको छैन ।
यता, उपसभापतिमा निरज कोइराला, धनराज गुरुङ र प्रवीण जोशी आकांक्षी रहेका छन् । सचिवमा झुमा निरौला, सुजन दाहाल, तेजिन्द्र भट्टराई र पेशल ढुंगेलले उमेदवारी दिने घोषणा गरेका छन् । यसैगरी सह-सचिवमा दिशव नेपाल, शिव पराजुली (शिशिर) र सचिन पोखरेल आंकाक्षी छन् । नेपाली कांग्रेसका मोरङ सचिव नागेश कोइरालाले पालिकास्तरमा चुनाव गराउन सबै तयारी पूरा भएको जानकारी दिए ।
पदाधिकारीबाहेक हरेक वडाबाट एकएक जना महिला अनिवार्यसहित तीन जना सदस्य निर्वाचित हुन्छन् । जसअनुसार विराटनगरका १९ वटा वडाबाट ५७ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । खुलातर्फ २२ र समावेशी १६ जना गरी थप ३८ जना सदस्य निर्वाचित हुने प्रावधान छ । १० प्रतिशत पछि मनोनयन हुन्छन् । कांग्रेसको महानगर समिति ९२ सदस्यीय हुने बताइएको छ ।

