दमक, २० असोज–झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा ११ दिनदेखि निमोनियाको उपचार गराइराखेका एक शिशुको बुधबार विहान डिस्चार्ज भयो ।
तर, औषधी, बेड र डाक्टर लगायतको एक मुष्ठ शुल्क जुटाउन नसकेपछि शिबसताक्षी–८ गुराँस चौक नजिकैका एक महिना ३ दिन मात्रै पुरा गरेका अभिषेक लिम्बूका परिवार अस्पतालमै अलपत्र परे । अस्पताललाई बुझाउनु पर्ने एक मुष्ठ शुल्क नभएपछि अभिषेकका परिवार दिनभरी तनावमा थिए ।
एक महिना मात्रै पुरा गरेका छोरालाई अस्पतालको बेडमा छाडेर बुबा बादल लिम्बू मोबाइलबाट आफ्ना आफन्त र छर-छिमेकीलाई हार-गुहार गरे । अस्पतालबाटै आफन्त र छर-छिमेकीलाई सर-सापटी, ऋण र सहयोगको याचना गरे ।
खर्चको अभावले अस्पतालमा अलपत्र परेको खबर नेपाली काँग्रेस शिबसताक्षी नगरका उपसभापति सन्त फेउवादेन लिम्बूले पाए ।
नेता फेउवादेन मार्फत नेपाली कांग्रेस नगर सदस्य मंगलसिंह सम्बाहाम्फे, वडा नं ८ का सचिव सन्तोष नेपाली, वडा सहसचिव प्रेम लावती, नगर सदस्य खेमकुमार सम्बाहाम्फे, राकेश रिजाल, सुरेन थिङ, दीपेन्द्र प्रधान र तरुण दलका नेता देबी प्रसाद लावती सहित स्थानीय सामाजिक र राजनीतिक अगुवाहरुको सक्रियतामा आर्थिक सहयोग संकलन भयो । सो क्रममा पार्टीको पहलमा रु २७ हजार ७ सय ७५ सहयोग संकलन भएको थियो ।
अभिषेकको उपचारको क्रममा फार्मेसी र अस्पतालको विभिन्न शिर्षकसहित रु ४१ हजार बढी खर्च भएको लाइफ लाइन अस्पतालले परिवारलाई जनाएका थिए । त्यति ठूलो रकम जुटाउने परिवारसँग सम्भव थिएन ।
अस्पतालले दिएको बिल अनुसार फार्मेसीमा रु १४ हजार ६ सय र अस्पतालमा रु २७ हजार २ सय ७० गरी जम्मा रु ४१ हजार ८ सय ७० खर्च भएको थियो ।
सो खर्च मध्ये आज बुधबार फार्मेसीमा रु १२ हजार ६ सय र अस्पतालमा रु २० हजारसहित रु ३२ हजार ६ सय बुझाएपछि बादलले आफ्नो छोरा अभिषेकलाई डिस्चार्ज गराएर घर लैजान पाए ।
नेता सन्त फेउवादेन, मंगलसिंह सम्बाहम्फे र सन्तोष नेपालीसहित पत्रकार अनिलदेब राई अस्पतालमै पुगेर पीडित परिवार र अस्पताल सञ्चालक र प्रशासनका प्रतिनिधिलाई भेटघाट गरेका थिए ।
सो क्रममा अस्पताल प्रशासनले अभिषेकको उपचारमा लागेको खर्चमा सहयोग वापत छुट गराएका थिए ।
अभिषेकका बुबा बादल गाउँघरमा बनिबुटो र ज्यालादारी गरेर जीविका गर्छन् । उनको आफ्नो खेतवारी र घरसम्म छैन् । उनी सुकुमवासी हुन् । अभिषेकका बुबा बादलको बुबा, आमा, भाई, बुहारी, श्रीमति र नानीहरुसहित नौ जनाको परिवार छ ।
छोराको उपचारमा सहयोग पाएपछि बादल दंग भए । ११ दिनपछि छोरालाई घर लान पाएपछि उनी उत्साहित थिए । त्यसक्रममा उनले छोराको उपचारको निम्ति आर्थिक सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
यता, उपसभापति फेउवादेनले अभिषेकको उपचारमा सहयोग गर्नुहुने सवैलाई धन्यवाद व्यक्त गरे । यो मानवीय सेवाप्रति उच्च मन, विचार र भावनाका साथ आर्थिक सहयोगमा जुट्नुहुने कांग्रेस शिबसताक्षी नगरका सवै नेतृत्वहरुलाई धन्यवाद दिए । साथै, अभिषेकको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
