काठमाडौं, २२ असोज–सत्तारुढ गठबन्धनका दलहरुबीच नेकपा (एकीकृत समाजवादी) लाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ।
संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टी जनाउदै आएको नेकपा (एकीकृत समाजवादीं) लाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन्।
बिहीवार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाई भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा समाजवादीलाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए।
‘माधवजीले असन्तुष्टी राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस् अन्यत्रको नियुक्तिमा पनि हेरौला र छलफल गरौला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभयो,’ ती नेताले भने।
नेकपा एसको भागमा मुख्यमन्त्री परेका दुई प्रदेशमा गठबन्धन दलको बहुमत छ। यस्तै एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ। कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य मन्त्रालय उसलाई दिने भएको हो।
अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ।
