झिलझिले, २२ असोज–शिवसताक्षी नगरपालिकाले चार वर्षमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ ।
जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले सो भवन निर्माण गरको जनाइएको छ । पालिकाले रु २० करोड ४० लाखको लगानीमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्रका भवन रु ४ करोड ४५ लाखको लगानीमा ६ वटा वडा कार्यालयका भवन निर्माण गरेको हो ।
पालिकाले आफ्नै स्रोत, साधन तथा कतिपय अवस्थामा सङ्घीय र प्रदेश सरकारको समेत सहयोग जुटाएर सबै वडामा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेको जनाएको छ ।
कार्यालयले वडा नम्बर १ मा रु २४ लाख १६ हजार २३५, वडा नं २ मा रु २४ लाख आठ हजार ६९३, वडा नं ३ मा रु २४ लाख १५ हजार २०७, वडा नंं ५ मा रु २५ लाख ५० हजार २९३, वडा नं ७ मा रु २५ लाख २४ हजार ३३, वडा नं ८ मा रु २६ लाख ६४ हजार १६, वडा नं ९ मा रु २६ हजार ६१ हजार ८३७ र वडा नं १० मा रु २७ लाख ५९ हजार ७१० को लागतमा भवन निर्माण भएको छ ।
पालिकाको आन्तरिक स्रोत, प्रदेश सरकारको समपूरक बजेट र जिसस सांसद पूर्वाधार विकास कोषको लगानीमा वडा कार्यालयका भवन बनेका हुन् ।
वडा नं १ मा रु एक करोड एक लाख ४१ हजार ६३७, वडा नं ३ मा रु ९९ लाख ८७ हजार ८०३, वडा नं ४ मा रु ४२ लाख, वडा नं ५ मा रु ९५ लाख, वडा नं ६ मा रु ९५ लाख ३६ हजार ९३९ र वडा नं ७ मा १२ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको छ ।
वडा नं ६ को शिवगञ्जदेखि बुलुचोकसम्मको आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि रु सात करोड लगानी गरेको छ । पालिकाले यसै आर्थिक वर्ष २०७८/०७९ मा अस्पताल, फोहोरमैला व्यवस्थापन, बसपार्क, पर्यटकीयस्थल र शववाहन खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।
