चितवन, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबारे अनावश्यक हल्ला गर्नुको तुक नभएको बताएका छन् ।
प्रेस सेन्टरले शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गजेन्द्र हमाल कांग्रेस नै भएको र सोही कोटाबाट मन्त्री बनेकाले हल्लाको तुक नभएको बताएका हुन् ।
प्रचण्डले सत्ता घटक मन्त्रीपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई भाग नछुट्याएको दाबी उनले गरेका छन् । ‘नेपाली कांग्रेसको कोटाबाट गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । प्रधानन्यायाधीशका मान्छे भनेर अनावश्यक हल्ला गर्नुको तुक छैन’, दाहालले भने, ‘सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था नै छ। त्यही अनुसार उनी नियुक्त भएका हुन् ।’
दाहालले संसद विघटनदेखि नै आफूहरुले प्रयोग गरेको सेटिङ शब्द अहिले प्रतिपक्षी एमालेसहितले प्रयोग गर्न थालेको पनि जिकिर गरे । अध्यक्ष दाहालले लामो समयपछि मन्त्रिसपरिषद्ले पूर्णता पाउनु गठबन्धनका लागि सकारात्मक पक्ष भएको पनि बताए ।
उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता नहुने पनि बताए। निर्वाचनसम्म तालमेल गरेर जाने राम्रो समझादारी बनेको दाहालले बताए । प्रचण्डले लगातार एमालेसँग संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार नभएको पनि जिकिर गरे ।
‘आफैंले पटक–पटक विघटन गरेको संसद अवरुद्ध गर्ने एमालेलाई अधिकार छैन । बरु संसद छोडेरै गए भो’, उनले भने, ‘विरोध नै गर्नुछ भने त जनतामा गए हुन्छ ।’ उनले एमालेसँग संसद अवरुद्ध गरिरहने कुनै तर्क र तथ्य पनि नभएको जिकिर गरे । ‘संसद अवरुद्ध गर्नुको कुनै न तर्क छ, न त कुनै तथ्य नै’, उनले भने्, ‘संसद विघटनलाई जायज पुष्टि गर्न मात्रै संसद अवरुद्ध गरिरहेका छन् ।’
