काठमाडौं, ३१ असोज–शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वामदेव गौतमबाट दशैंको टीका लगाएकी छन् । एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार टीका लगाउन मन्त्री झाँक्री आइतबार गौतम निवास पुगेकी हुन् । ‘

आज मान्यवरबाट टीका ग्रहण गर्दा त्यतै भेट भयो’, सुवेदीले गौतम निवासमा समूहमा लिइएको फोटो राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीको सचिव रहेकी झाँक्री अहिले शहरी विकासमन्त्री छिन् । एमालेबाट राजीनामा दिएर बसेका गौतम अहिलेसम्म एकीकृत समाजवादीमा जोडिएका छैनन् ।

एमालेका अध्यक्ष केपी ओलीले राजीनामा स्वीकृत गरिनसकेकाले गौतम फेरि पनि एमालेमै रहन्छन् वा एकीकृत समाजवादीतिर लाग्छन् प्रष्ट भइसकेको छैन ।

प्रतिनिधिसभाको सदस्य रहेकी गौतम पत्नी तुलसा थापा पनि कतै खुलेकी छैनन् । गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास अन्तर्गत एमाले र एकीकृत समाजवादी दुवै पक्षका नेताहरूले भेटवार्ता गरिरहेका छन् ।

यसैबीच, दशैं टीका लगाउने सन्दर्भ मिलाएर झाँक्रीले गौतमसँग भेटवार्ता गरेकी हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *