काठमाडौं, ३ कातिक–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहे देउवा सरकार एक सातामा ढाल्ने दावी गरेका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ’, ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे ।

‘हाम्रो अभिष्ट सरकार बनाउने होइन । देश बनाउने र सरकार बनाउने कुरा फरक छ । देश बन्ने निश्चित गरेरमात्रै हामी सरकार बनाउँछौं’, ओलीको भनाई । उनले अर्ली इलेक्सन भए आफूहरु मान्न तयार रहेको पनि बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ । हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी’, कार्यकर्तालाई ओलीको निर्देशन छ ।

अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् । सरकारको सय दिन पूरा भइरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् ।

उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दाबी समेत गरे । ‘अहिलेको सरकार एक खालको नायवीद्वारा चलाइएको निमित्त नायकको सरकार हो’ उनले भने, ‘सरकार आलोचना गर्न पनि लायक रहेन, जसको हातमा नायवी छ, पर्दा पछाडि छ, अरु के भन्नु ?’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *