काठमाडौं, ४ कातिक–मनसुन बाहिरिसकेका बेलाको बेमौसमी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी चार दिनमा ८२ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले ८२ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
सबैभन्दा धेरै पाँचथरमा २७ जनाको ज्यान गएको छ । यस्तै, इलाममा १३, डोटीमा १२, धनकुटामा सात, हुम्लामा ६, सुनसरीमा ५, बैतडीमा चार, प्युठान, बझाङ र उदयपुरमा दुई र दुई जनाको ज्यान गएको छ । सोलुखुम्बु, मोरङ, डडेल्धुरा र कालीकोटमा एक रएक जनाको ज्यान गएको छ ।
बाढी पहिरोमा अझै २६ जना हराइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् । उनका अनुसार सबैभन्दा धेरै बझाङमा २१ जना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ ।
यस्तै, बाढी पहिरोबाट ३० वटा घर पूर्ण रुपमा भत्किएका छन् । सरकारी संरचनामा भएका क्षतिबारे भने तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । बाढी, पहिरो र डुबानबाट १९ जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।
पाँचथर, इलाम, डोटी, धनकुटा, हुम्ला, जुम्ला, सुनसरी, बैतडी, कालीकोट, कञ्चनपुर, बर्दिया, कैलाली, दैलेख, दार्चुला, बाजुरा, सुर्खेत, बझाङ, मोरङ, डडेलधुरा प्रभावित भएका छन् । यस्तै, बाढी पहिरोका कारण ठाउँ–ठाउँमा पर्यटकहरु अलपत्र परेका छन् ।
उनीहरुको नेपाली सेनाले उद्धार गरिरहेको छ । उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । खबर आउना साथ हेलिकप्टर उद्धारमा खटिने विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् । उनले कुनै समस्या परे गृह मन्त्रालयको ९८५११४०००५ नम्बरमा फोन गर्न पनि आग्रह गरेकी छिन् ।
विदेशी नागरिक र पर्यटकको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले बाढी–पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक र पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकारीहरुलाई विपद्मा परेका विदेशी नागरिक र पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन् ।
बाढी–पहिरो र डुबानमा परेका नेपाली नागरिकको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ’, सुरक्षा निकायमा प्रमुखहरुलाई गृहमन्त्री खाँणले भने, ‘नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक र पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन् । उनीहरूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला ।’
