सिन्धुपाल्चोक, ४ कार्तिक–संघीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले संसद्ले छिटै गति लिने बताएका छन् ।
बुधबार सिन्धुपाल्चोकको कुविण्डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले संसद् सञ्चालनका लागि छलफल भइरहेको बताएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका-४, कुविण्डेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९औं वार्षिक साधारण सभामा सहभागी हुुन सापकोटा आफ्नो जन्मथलो पुगेका थिए ।
सापकोटाले कृषकहरू सधैँ समस्यामा पर्ने गरेको बताए । बेमौसमको वर्षाले किसानलाई अप्ठ्यारो परेको उनले बताए ।
संसद् सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल लगायत सबैसँग छलफल भइरहेको र छिटै निकास निस्किएर संसद् गतिरोध अन्त्य हुने बताए ।
विपक्षी दलको आग्रहमा नै संसद्को बैठक २ दिन पछि सरेको र सो दिन संसद् निर्बाध चल्ने आशय सापकोटाले व्यक्त गरे ।
