धादिङ, ४ कार्तिक–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ पुगेका कांग्रेस नेता सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए ।
वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेकाले अबको नेतृत्व पुरानाले होइन नयाँले गर्नुपर्ने बताए । अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उनको माग छ ।
यसअघि, महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीनपटक महाधिवेशन तोकेरपनि सर्दै आएकामा उनले चिन्ता व्यक्त गरे । उनले अझै तीन जिल्लामा सदस्यता विवाद भएकाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार गर्नुपर्ने बताए ।
पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागत रूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने बताए । पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियानमा आफू लागेको बताए ।
प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लाका सभापतिको समेत सहभागिता थियो ।
