काठमाडौं, ८ कात्तिक–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशनको उद्घाटन सत्र नारायणी नदीकिनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी शुरुवात भएको जानकारी दिइन् । यसका लागि स्थानको स्थलगत अवलोकन गर्ने काम भइरहेको उनले बताइन् । उनले भनिन्, ‘महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा गर्ने गरी केन्द्रलाई आज सिफारिस पठाउँदै छौं ।’

उद्घाटन सत्रमा ५ लाखभन्दा बढी जनसहभागिता हुने भएकाले नारायणी नदी किनारको खुला ठाउँ छनोट गरिएको उनले बताइन् ।

सर्वसाधारणलाई सहज हुनेगरी उक्त ठाउँ उद्घाटन सत्रका लागि उपयुक्त हुने रावलको भनाइ छ । यस्तै महाधिवेशन प्रतिनिधि धेरैजसोलाई सौराहामा आवासको व्यवस्था हुने भएकाले बन्द सत्र सोही ठाउँमा गर्न सहज हुनेगरी सिफारिस गर्न लागिएको उनले बताइन् ।

उनले भनिन्, ‘महाधिवेशन प्रतिनिधि अधिकांशलाई हामीले सौराहामा आवासको व्यवस्था गर्दै छौं, त्यही बन्द सत्र भयो भने सहज हुन्छ ।’ अधिवेशनकै सन्दर्भमा आइतबार नारायणी नदी किनार र सौराहाको स्थलगत अवलोकन गरिएको अध्यक्ष रावलले जानकारी दिइन् ।

एमाले नेता सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारीलगायतकाको उपस्थितिमा अवलोकन गरिएको हो । यस्तै पार्टीका नेताले सौराहाका होटल व्यवसायीसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा छलफल भएको जनाइएको छ ।

व्यवसायी सकारात्मक रहेको र सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् । यसैगरी आइतबार नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग पनि महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *