काठमाडौँ, ११ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव घनश्याम भूसालले स्थायी कमिटी बैठकमा तीन बुँदे राय पठाएका छन् ।
कोरोना संक्रमण भएकाले बिहीबारको बैठकमा अनुपस्थित भूसालले अध्यक्ष केपी शर्मा ओलीसहित स्थायी कमिटीका सबै सदस्यलाई लिखित राय पठाएका थिए । तर उनले पठाएको राय बैठकको एजेण्डा नबनेको र छलफल पनि नभएको जनाइएको छ ।
भूसालले १० बुँदे सहमति कार्यान्वयन, विधान महाधिवेशनको समीक्षा र पार्टीको राजनीतिक कार्यक्रमबारे आफ्नो राय पठाएका थिए । ‘माधव नेपाल आउँछन् कि भनेर १० बुँदे गरिएको’ भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भूसालले ‘जे भनेर १० बुँदे गरिएको हो, त्यही गरिनुपर्ने राय राखेका छन् ।
‘कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दशबुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्’, उनको राय छ । माधव नेपाल नआए पनि १० बुँदे कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले जनाएको भूसालले पत्रमा उल्लेख गरेका छन् ।
१५–१७ असोजमा सम्पन्न विधान महाधिवेशनको निर्णय संस्थागत रुपमा हुन नसकेको भूसालको निष्कर्ष छ । प्रतिनिधिको निर्णय, दस्तावेजको अन्तिम तयारी, टोली र टोली नेता चयन, महाअधिवेशन सञ्चालन लगायतमा संस्थागत निर्णय नभएको उनको भनाइ छ । यस्तो कमजोरी आगामी दिनमा हटाउनुपर्ने भूसालले सुझाव राखेका छन् ।
नवौं महाधिवेशनबाट पारित पार्टीको कार्यदिशा कार्यान्वयन गर्न ठोस् कार्यक्रम ल्याउन आवश्यक रहेपनि विधान महाधिवेशनबाट त्यो काम हुन नसकेको भूसालले भनाइ छ ।
