काठमाडौं, २१ कार्तिक–एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धनलाई लोकतन्त्रको ‘भक्षक’ को संज्ञा दिएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले सत्तारूढ गठबन्धनलाई लोकतन्त्र, लोकतान्त्रिक मूल्य, मान्यता नभई आफ्नो स्वार्थ पूर्तिका लागि केवल सत्तामात्रै चाहिएको आरोपसमेत लगाए ।
एमाले नभएको भए फेरि ०१७ साल आइसकेको हुने उको भनाइ छ । एमाले नभएकै कारण २००७ सालपछि ०१७ साल आएको तर अहिले एमाले भएकाले आउन नसकेको उनको दाबी छ । ‘एमाले हुँदैनथ्यो भने ०१७ साल अस्ति नै आइसक्थ्यो । तर, यहाँ एमाले छ । त्यस कारण १७ साल आउन सक्दैन । २००७ सालपछि ०१७ साल आइहाल्यो नि । आउँथ्यो यहाँ पनि,’ उनले भने ।
ओलीले एमाले भएकै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेको पनि बताए । एमालेले संविधान च्यात्न नदिने, लोकतन्त्रलाई तलमाथि हुन नदिने प्रतिबद्धता गरेको उनको भनाइ छ ।
‘संविधान भनेको एउटा पुस्तक हो । बलजफ्ती गर्यो भने च्यात्न कतिबेर लाग्दैन । तर नागरिक सचेत छ भने उनीहरूको मनोबल च्याप्न सकिँदैन । त्यसै कारण प्रतिक्रियावादी शक्तिहरू चुप लागेर बसेका छन् । त्यस्ता परमादेशहरू, प्रतिगामी परमादेशहरू अनेक आउन सक्छन् । हामी सरकार छोड्न तयार छौँ, तर देशलाई तलमाथि हुन दिँदैनौँ । हामी सरकार छोड्न तयार छौँ, संविधान च्यात्न दिँदैनौँ । हामी लोकतन्त्र तलमाथि हुन दिँदैनौँ । हामीले सात दशकभन्दा बढी सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र हो, बलिदान दिएर ल्याएको लोकतन्त्र हो । नेकपा एमाले यो अठोटमा भएकै हुनाले लोकतन्त्र जीवित छ, होइन भने अहिले यो पाँच दलीय गठबन्धन भन्ने छ नि, बर्को राधे–राधे लगाएका हुन् कि, रामराम लगाएका हुन् कि, कृष्ण–कृष्ण लगाएका हुन् ? यी सबै लोकतन्त्रको भक्षकहरू हुन् । यिनीहरूलाई सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ । देश होइन,’ ओलीले भने ।
अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैल्याउने काम गरिएको उल्लेख गर्दै त्यसका विरुद्ध सामाजिक सञ्जालमार्फत् ‘वार’ गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
