काठमाडौं, २२ कात्तिक–मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ ।

वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि छनोट पनि सर्वसम्मत हुने जनाएको छ ।

भरतपुरस्थित नारायणी नदी किनारको मैदानमा महाधिवेशन उद्घाटन गर्ने तयारी एमालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटनस्थलको अवलोकन गरिसकेका छन् । उनले पार्टी सम्पर्क कार्यालय र बन्द सत्र गर्ने स्थल सौराहाको पनि निरीक्षण गरिसकेका छन् ।

एमाले महाधिवेशन मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार नेतृत्व छनोट प्रक्रिया एकैदिन टुंगिनेछ । त्यसका लागि एक सयवटा इलेक्ट्रोनिक भोटिङ मेसिन ९इभिएम० प्रयोग गरिनेछ । एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा मतदानका लागि भोटिङ मेसिन प्रयोग गर्न अनुमति दिइसकेको छ । ‘एकै दिन मतदान र परिणाम सार्वजनिक गर्नेगरी तयारी भएको छ’, सहसंयोजक पाण्डेले भने । उनका अनुसार सबै हिसाबले महाधिवेशन तयारीमा मूल व्यवस्थापन कमिटी लागिरहेको छ ।

एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । एमालेको संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्ष एक, वरिष्ठसमेत पाँच उपाध्यक्ष, महासचिव एक, उपमहासचिव एक र ७ सचिव गरी १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । तर, महाधिवेशनले पदाधिकारी संख्या बढाउन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन् । ‘महाधिवेशनको हलले विधान संशोधन गर्न सक्ने अवस्था छ । नेताहरूको व्यवस्थापनका लागि पनि पदाधिकारी बढाउनुपर्ने अवस्था छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने । दसैंअघि सञ्चारकर्मीसँगको भेटघाटमा उपमहासचिव घनश्याम भुसालले विधान संशोधन हुने संकेत गरेका थिए ।

उनले महाधिवेशनको हलबाट विधानका केही प्रावधान हेरफेर हुनसक्ने बताएका थिए । अहिले विधानअनुसार महाधिवेशनबाट केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना निर्वाचित हुनेछन् । ‘केन्द्रीय सदस्यहरूको संख्या नबढे पनि पदाधिकारीको संख्यामा हेरफेर हुनसक्छ’, स्थायी कमिटीका ती सदस्यले भने ।

एमालेले महाधिवेशन प्रक्रियाअन्तर्गत अहिलेसम्म भएका सबै कमिटी तहमा सर्वसम्मत नेतृत्व छनोट गरेको छ । वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले कात्तिक २७ मा महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत छान्ने तयारी गरेको छ । प्रतिनिधि सर्वसम्मत छनोट भए महाधिवेशनबाट केन्द्रीय पदाधिकारी पनि सर्वसम्मत छनोट गर्ने उसको तयारी छ । तर केन्द्रीय सदस्य सर्वसम्मत छनोट हुने अवस्था नरहेको नेताहरूले बताएका छन् ।

यसैगरी सत्ता साझेदार माओवादी केन्द्र पनि राष्ट्रिय सम्मेलन तयारीमा जुटेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतका अनुसार यही कात्तिक २५ गतेसम्म पार्टी सदस्यता नवीकरण, २७ गते टोल सम्मेलन, मंसिर ४ गते वडा सम्मेलन,११ गते गाउँ÷नगरपालिका सम्मेलन, २५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ गते राष्ट्रिय सम्मेलनको कार्यतालिका तय भएको छ । ‘पार्टी केन्द्रले पठाएको यही तालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ’, बस्नेतले भने ।

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउनुअघि संगठन निर्माण र विभिन्न कमिटीमा नयाँ नेतृत्व तोक्न थालेको छ । भाइटीकाको अघिल्लो दिन कात्तिक १९ गते पार्टीले प्रदेश २ मा जिल्ला समन्वय समिति संयोजक र केही जिल्लामा सहइन्चार्ज ९सहसंयोजक० तोकेको छ । प्रदेश २ का आठ वटै जिल्लाको संयोजक तथा दुई वटा जिल्लाको सहइन्चार्ज माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले तोकेको हो ।

राष्ट्रिय सम्मेलनमा विवाद नहोस् भनेर पार्टीले प्रदेश २ का जिल्ला संयोजक तोकेको हो । सप्तरीमा उमेशकुमार यादव, सिरहामा रामकुमार यादव,धनुषामा दीपक यादव, महोत्तरीमा तुलसी ढुंगाना, सर्लाहीमा कमल बुढाथोकी, रौतहटमा देवेन्द्र पटेल, बारामा अनिल श्रेष्ठ र पर्सामा रामदरेश कुशवाहलाई संयोजक तोकिएको छ । त्यस्तै, सर्लाही जिल्लाको सहइन्चार्जमा लोचन धिमाल र रामपृत राय तथा धनुषाको सहइन्चार्जमा झल्कु यादव तोकिएका छन् ।

वीरगन्ज महानगरपालिकाको संयोजकमा रहवर अन्सारीलाई तोकिएको छ । अरु जिल्लाको हकमा आवश्यकताअनुसार संयोजक र सहसंयोजक तोकिने माओवादी केन्द्रले जनाएको छ । अहिले पूर्वकमिटीमा रहेका पदाधिकारीलाई सम्मेलनसम्मका लागि जिम्मेवारी तोकिएको हो।राष्ट्रिय सम्मेलनअघि देशभरका सबै वडा, पालिका, जिल्ला र प्रदेशमा नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ । नागरिक दैनिकबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *