काठमाडौं, २२ कार्तिक–इमिल स्मिथ रोको गोलमा आर्सनलले आइतबार राति इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि १–० को विजय हासिल गरेको छ । लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । यससँगै प्रशिक्षकका रूपमा मिकेल आर्टेटाको १००औँ खेल सुखद बनेको छ ।
उत्कृष्ट लयमा रहेका स्मिथ रोले ५६औँ मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । कप्तान पिइरे–इमेरिक औबमेयाङले ३६औँ मिनेटमा पेनाल्टीमा गोल गर्न चुक्दा आर्सनलले अग्रता लिने राम्रो मौका गुमाएको थियो । त्यसअघि सातौँ मिनेटमा बुकायो साकाले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो ।
यससँगै लिगमा आर्सनलको अपराजित यात्राले आठ खेलसम्म निरन्तरता पाएको छ । आर्सनल २८ अगस्टमा म्यान्चेस्टर सिटीसँगको हारपछि पराजित भएको छैन ।
जितपछि ११ खेलबाट २० अङ्क जोडेको आर्सनल पाँचौं स्थानमा उक्लिएको छ । जुन चौथो स्थानको वेस्ट ह्यामसँग बराबरी हो । तथापि वेस्ट ह्यामले एक खेल कम खेलेको छ । आर्सनल शीर्ष स्थानको चेल्सीभन्दा ६ अङ्कले पछाडि छ ।
पराजित वाटफोर्ड रेलिगेशन क्षेत्र नजिक पुगेको छ । वाटफोर्डले ११ खेलबाट १० अङ्क जोडेको छ । जुन रेलिगेसन क्षेत्रमा रहेको बर्नलीभन्दा दुई अङ्कले माथि हो ।
लेस्टर र टोटनहम बराबरीमा रोकिए
दोस्रो हाफमा एडमोला लुकमनले गरेको गोललाई भिडियो सहायक रेफ्रीले मान्यता नदिएपछि लेस्टर सिटीले आइतबार राति लिड्स युनाइटेडसँग १–१ को बराबरी खेलेको छ ।
लेस्टरले जितमा जित निकाल्न नसकेको यो लगातार दोस्रो खेल हो । यसअघि लेस्टर आर्सनलसँग २–० ले पराजित भएको थियो । लेस्टरले बिहीबार राती युरोपा लिगमा स्पार्टक मस्कोसँग पनि १–१ को बराबरी खेलेको थियो ।
घरेलु टोली लिड्स युनाइटेडले २६औँ मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेट वित्न नपाउँदै लेस्टरका हार्भे बार्नसले बराबरी गोल फर्काए । ६७औँ मिनेटमा लेस्टर का लुकमले गोल गरेका थिए । तर उक्त गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएको थियो ।
बराबरीपछि ११ खेलबाट १५ अङ्क जोडेको लेस्टर १२औँ स्थानमा छ । जुन चौथो स्थानको वेस्ट ह्यामभन्दा पाँच अङ्कले पछाडि हो । समान खेलबाट ११ अङ्क जोडेको लिड्स १५औँ स्थानमा छ ।
एन्टोनियो कोन्टेलाई नयाँ प्रशिक्षक नियुक्त गरेको टोटनहमले दस खेलाडीमा सीमित एभर्टनसँग गोलरहित बराबरी खेल्यो ।
इन्जुरी समयमा एभर्टनका मासन होलगेटलाई रेफ्रीले सुरुमा पहेँलो कार्डको दर्शन गराएका थिए । तर भिडियो सहायक रेफ्रीको सहायतामा रेफ्री क्रिस काभानघले रातो कार्ड देखाएका थिए । त्यसपछि एभर्टन दस खेलाडीमा सीमित बनेको हो ।
टोटनहम पनि यसअघि म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा ३–० ले पराजित भएको थियो । त्यसपछि टोटनहमले प्रशिक्षक नुनो स्प्रिटो सान्टोलाई बर्खास्त गरेर कोन्टेलाई नियुक्त गरेको थियो । कोन्टेको प्रशिक्षणमा टोटनहमले युरोपा कन्फेरेन्स लिगमा भिटेसलाई ३–२ ले हराएको थियो ।
आज बराबरी खेलेसँगै ११ खेलबाट १६ अङ्क जोडेको टोटनहम नवौँ स्थानमा छ । समान खेलबाट १५ अङ्क जोडेको एभर्टन ११औँ स्थानमा छ ।
