काठमाडौं, २४ कार्तिक–निर्वाचन आयोगले पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि करिब ११ करोड रुपैयाँ बजेट माग गरेको छ ।
पालिकाहरूमा आवधिक मतदाता नामावली संकलनका लागि साढे आठ करोड र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता कार्यलाई निरन्तरता दिन साढे दुई करोड रुपैयाँ माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उनका अनुसार आयोगले पहाडी र हिमाली पालिकाहरूमा १० दिन र तराई एवं सहरी पालिकाहरूमा १५ दिन मतदाता नामावली संकलन गर्नेछ । यस्तै, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नाम दर्ता कार्यलाई निरन्तरता दिन यसअघिको बजेट सकिएकाले बजेट माग गरिएको उनले बताए ।
आयोगले यसअघि आउँदो मंसिर १ गतेदेखि मतदाता नामावली संकलन गर्ने कार्ययोजना राखेको भए पनि बजेट अभावमा १ गते नै सुरु हुन नसक्ने जनाएको छ । “बजेटका लागि अर्थ मन्त्रालयमा छलफलका क्रममा रहेकाले केही ढिला हुन गएको हो । अर्थले बजेट दिएपछि काम सुरु गरिहाल्छौँ,” उनले भने ।
बजेट प्राप्त भए मंसिर ६र७ गतेदेखि मतदाना नामावली संकलन गरिने उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमा अहिले पनि नियमित रूपमा मतदाता नामावली संकलन भइरहेको छ । तर, पालिका र वडा तहमा एकपटक पुग्नुपर्ने देखिएकाले पालिका तहमा गएर मतदाता नामावली संकलन गर्न लागिएको उनले जानकारी दिए ।
