डडेल्धुरा, २४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वपपधानमन्त्री माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि बताए ।
बुधवार डडेलधुरामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताएका हुन् ।
आफूहरूको पार्टी नेकपा एस भन्नुको कारण एमाले नो हुनु रहेको उनको भनाइ छ । उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’
यस्तै उनले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने पनि बताए । नेपालले भने, ‘आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ, त्यो पाँचै दलबिच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौ ।’
उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनले जिकिर गरे । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गरे ।
भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।
आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको र न्यायको पक्षमा उभिने कलम नै सही भएको नेपालले दाबी गरे । थाहाखबर अनलाइन
