काठमाडौं, २५ कात्तिक–चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया प्रशान्त क्षेत्रमा तनावलाई शीत युद्धको मानसिकतामा परिणत हुन नदिने चेतावनी दिएका छन् ।

एसिया–प्यासेफिक इकोनोमिक फोरमको साइडलाइन सम्बोधनमा अष्ट्रेलियाले परमाणु उर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्न सक्ने गरी अमेरिका, यूके र अष्ट्रेलियाले गरेको नयाँ सुरक्षा गठबन्धनलाई लक्षित गर्दै सीले यस्तो चेतावनी दिएका हुन् । चीनले उक्त सुरक्षा सम्झौताको कडा आलोचना गरेको छ ।

न्युजिल्यान्डले भर्चुअल फम्र्याटमा आयोजना गरिरहेको एपेकको सीईओ सम्मेलनलाई सीले प्रि–रेकर्डेड भिडियोमार्फत् सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा सीले यस क्षेत्रमा वैचारिक वा भूराजनीतिक रेखाहरूको साथ सीमाहरू खिच्ने प्रयास विफल हुने बताए ।

‘एसिया–प्रशान्त क्षेत्र शीत युद्धकालीन टकराव र विभाजनमा पुनः फर्कन सक्दैन र फर्कनु हुँदैन’, उनले भने । अर्को साताको सुरुतिर सीले अमेरिकी समकक्षी जो बाइडनसँग भर्चुअल छलफल गर्ने बताइएको छ । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव सिर्जना भएका बेला सीको यस्तो चेतावनी आएको हो ।

यसैबीच, सीले जलवायु परिवर्तन र कोभिड–१९ खोपलगायत साझा चुनौतीहरू विरुद्ध सहकार्य गर्न आह्वान गरेका छन् । उनले विकासोन्मुख देशहरूलाई खोपमा थप पहुँच पुर्याउन संयुक्त प्रयास गर्नुपर्ने बताए ।

सीले यस क्षेत्रले आपूर्ति लाइनहरू सञ्चालन गर्न र व्यापार एवं लगानीलाई उदारीकरण जारी राख्न सुनिश्चित गर्नुपर्ने पनि बताए । ‘चीन आर्थिक विकासलाई गति दिन सुधार र खुलापनलाई अगाडि बढाउन दृढ रहनेछ’, उनले भने ।

एपी र अलजजिराबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *