काठमाडौं, २६ कार्तिक–कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई उम्मेदवारी नदोहोर्याउन आग्रह दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले बिहीबार सरकारी निवास बालुवाटारमा संस्थापन पक्षीय नेताहरूको भेला गरेर सभापतिका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
भेलामा डाकिएका उपसभापति निधिले भने कार्यकर्ताको मुड बुझेरमात्र अघि बढ्न देउवालाई सचेत गराए । उनले कार्यकर्ताले वरिष्ठ नेता रामचन्द्र पौडेल र शेरबहादुर दुवै आउन नहुने भनिरहेको बताए ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार बैठकमा निधि-देउवाबीच ठट्यौली शैलीमा सवाल-जवाफ चलेको थियो ।
‘तपाईं एकीकृत कांग्रेसको सभापति भइसक्नुभएको छ । कांग्रेसबाट प्रजातन्त्रदेखि गणतन्त्रमा प्रधानमन्त्री पनि भइसक्नुभएको छ,’ निधिले देउवालाई भनेका थिए, ‘अब कार्यकर्ताको मुड बुझेर मात्र अघि बढ्नुस् । कार्यर्ताले तपाईं र रामचन्द्र दुवै नआओस् भनिरहेका छन् ।’
देउवाले आफू १४औँ महधिवेशनमा पनि उम्मेदवार बन्न लागेको बताएपछि निधिले यस्तो सुझाव राखेका थिए । उनले १३औँ महाधिवेशनसम्म आफूले देउवालाई नै सहयोग गरेको भन्दै पूर्वसहमतिअनुसार अब आफू उम्मेदवार बन्न लागेको बताएका थिए ।
‘१३औँ महाधिवेशनसम्म मैले शेरबहादुरजीलाई सहयोग गरेको हुँ र त्यसबेलाकै सहमतिअनुसार एक वर्षअघि नै मैले शेरबहादुरजीलाई जानकारी पनि गराएको हुँ,’ निधिले भने, ‘अब शेरबहादुरजीकै समर्थनमा म सभापति उम्मेदवार बन्छु । सम्पूर्ण टिमले सहयोग गर्नुपर्छ ।’ उनले त्यसो भन्नासाथ देउवाले ‘मेरो सुभकामना छ !’ भनेका थिए ।
त्यसपछि निधिले खुसी व्यक्त गरेका थिए । ‘यो त सुखद समाचार भयो । तपाईंले शुभकामना दिएपछि मैले यसलाई समर्थन र सहयोगसहितको शुभकामना बुझेको छ,’ निधिले भनेका थिए ।
त्यसपछि हतारिँदै देउवाले आफ्नो शुभकामना सच्याएका थिए ।
‘मैले शुभकामना भनेको हुँ । तर, अहिलेलाई कहाँ भनेको छु र !,’ देउवाले भनेका थिए, ‘तपाईंलाई १५औँ महाधिवेशनका लागि शुभकामना हो । त्यसबेला हाम्रो टिमको नेता तपाईं नै हो ।’ त्यसपछि बैठकमा हाँसो फैलिएको थियो ।
सबैसँग हाँस्दै निधिले भने देउवालाई कडा जवाफ फर्काएका थिए ।
‘तपाईंलाई ज्योतिषीले पटक-पटक प्रधानमन्त्री हुन्छस् भनेको हो, सभापतिमा भनेको हैन,’ निधिले भनेका थिए, ‘समयको माग र कार्यकर्ताको मुड हेर्नुस् । मैले धेरै कुरा भनिरहनु नपर्ला । अब तपाईं सभापति उम्मेदवार नबन्नुस् । मलाई समर्थन गर्नुस् ।’
त्यसपछि देउवाले आफूलाई दोहोर्याएर चुनाव लड्न विधानले नरोकेको भन्दै निधिलाई पनि लड्न शुभकामना दिएका थिए ।
‘तपाईं शुभकामना मात्र होइन समर्थन गर्नुस् । जीवनभर सहयोग गरेको साथीलाई सहमति गरेर धोका नदिनुस् म यति नै भन्छु,’ भन्दै निधिले बाहिरिने अनुमति मागेका थिए ।
दिउँसो २ बजे बैठकमा गएका निधि करिब ४५ मिनेट मात्र बसेका थिए । निधि रहँदासम्म बैठक निधि-देउवामै केन्द्रित भएको ती केन्द्रीय सदस्यले बताए । त्यसपछि निधि आफ्नो स्विट्जरल्यान्डका राजदूतसँग भेट्ने पूर्वनिर्धारित कार्यसूची रहेको भन्दै सबैसँग विदा लिएर बाहिरिएका थिए ।
