काठमाडौं, २७ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पार्टीको तर्फबाट सरकारको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री र मन्त्रीहरूलाई काममा केन्द्रित हुन निर्देशन दिएका छन्।
शनिबारबाट ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपाल भने, ‘संविधान र लोकतन्त्र जोगाउनको लागि गठबन्धन बनाएका छौँ। कानुनी समस्याको कारण पार्टीको आकार लिन समय लाग्यो। हामीले संघीय सरकार सरकारमा पनि प्रवेश गरेका छौँ। प्रदेश(१ र बागमतीमा हाम्रो नेतृत्वको सरकार छ।’ उनले जिम्मेवारी प्राप्त गरेको सबैले उचित निर्णय गरेर जनताको मन जित्न आग्रह गरे।
अध्यक्ष नेपालले भने, ‘सबैले आफ्नो काममा जिम्मेवारी पूरा गर्न केन्द्रित हुनुहोस्। मुख्यमन्त्रीहरूले पनि कुनै विवादित काम नगर्नुहोस्। त्यस्तो मैले सुन्न नपरोस्। मन्त्रीहरूले पनि आफ्नो जिम्मेवारी भुलेर काम नगर्नुहोस्। भ्रष्टाचार र अनियमितबारे सचेत रहनुहोस्।’
उनले नेता कार्यकर्तालाई पार्टीको संगठन विस्तारमा लाग्न आग्रहसमेत गरेका छन्। निर्वाचन प्रणाली खर्चिलो भएकाले अहिले निर्वाचनमा टिकट लिन मुस्किल हुने अवस्था रहेको उनको भनाइ छ। खर्चिलो निर्वाचन प्रणाली सुधार गरेर कम खर्चिलो र स्वच्छ बनाउन पहल गर्नुपर्ने उनले बताए।
‘पार्टीभित्र असल संस्कार स्थापित गर्नको लागि धेरै मिहिनेत गर्नुपर्छ। पार्टीलाई जनताको आशा भरोसालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’ उनले भने, ‘पार्टीको जिम्मेवारी पूरा गर्ने, लोकतान्त्रिक मूल्य र मान्यतालाई केन्द्रमा राखेर सामूहिकताको भावनामा चल्नुपर्छ। अध्ययन अनुसन्धान र सिर्जनात्मक रूपमा काम गर्दै गुणस्तरीय काम गर्नुहोस्। हावादारी गफ नगर्नुहोस्।’
आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयार गर्नसमेत नेता कार्यकर्ताहरूलाई निर्देशन दिए।
एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि शनिबार पहिलो बैठक बसेको छ। बैठकको सुरुमा अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरूको शपथग्रहण गराएका छन्।
