धुलाबारी, २७ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मेचीनगर १० नम्बर वडाको भेला शनिबार सम्पन्न भएको छ ।
पार्टीका मेचीनगर कमिटी अध्यक्ष अर्जुन पौडेलको अध्यक्षता एवं जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र ढुंगानाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
सो अवसरमा उक्त पार्टीका जिल्ला कमिटी सदस्यद्धय निरोज कट्टेल तथा वीपी भट्टराई, नगर कमिटी सचिव हरि तिम्सिना र सदस्य सुवर्ण भट्टराईले बोलेका थिए ।
पार्टीका नगर कमिटी उपाध्यक्ष चेतन विष्टले स्वागत गरेको भेलाको सञ्चालन जिल्ला कमिटी सदस्य भाष्कर घिमिरेले गरेका थिए ।
यसैबीच, सो भेलाले राजन सापकोटा संयोजक र श्रवणकुमार साह सचिव रहेको ३१ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी सर्वसम्मत चयन गरेको छ ।
आउँदो १५ दिनभित्रमा सम्पन्न भइसक्ने सम्मेलनले वडाको नयाँ नेतृत्व चयन गर्ने उक्त पार्टीले जनाएको छ ।
यसअघि सो पार्टीले मेचीनगरको वडा नम्बर ७ मा अधिवेशनमार्फत नेतृत्व चयन गरिसकेको छ । पार्टीका जिल्ला कमिटी सदस्य शंकर थापाका अनुसार नगरका अन्य वडाहरुमा पनि वडास्तरीय भेला र सम्मेलनलाई तीव्र पारिएको छ ।
