काठमाडौं, २९ कार्तिक–नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि देशका अधिकांश जिल्लाहरुमा सर्वसम्मतबाट प्रतिनिधि चयन भएको छ ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा आइतबार जारी एक प्रेस विज्ञप्तिमा पार्टीको पूर्वनिर्धारित तालिका अनुसार शनिबार एकै दिन प्रतिनिधि छनोटको काम सम्पन्न भएको र यसको थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।
एमाले पार्टी विधानले निर्धारण गरेको मापदण्ड अनुसार खुला, महिला, उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको र अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेको जनाइएको छ ।
कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
