काठमाडौं, २९ कात्तिक– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेर अघि बढेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउन पनि विद्रोह अनिवार्य रहेको बताए ।

कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैन थियो भने लागिरहेको हुनसक्ने भन्दै एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताए । ‘जब स्पेश हुन्छ । त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ । र जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने स्थिति हुन्छ कि टाटा बाइबाई गर्दै नयाँ संरचना बनाउने काममा अगाडि बढ्नु पर्ने अवस्था आउने बताए । उनले आफूले आँट गरेर विद्रोह गरे पनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको टिप्पणी गरे । ‘आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्, किनभने समयले हामीलाई कुर्दैन’, अध्यक्ष नेपालको टिप्पणी छ ।

अध्यक्ष नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताएका छन् । भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मिहिनेत गरेर कमाउने भन्दा दलाली र बिचौलिया प्रवृत्ति हुर्किदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘दलाल प्रवृत्ति हुर्किएको छ । मिहिनेत नै नगरिकन कमाउने प्रवृत्ति, लुट्ने प्रवृत्ति हुर्किएको र गहिरिंदै गएको पाइन्छ,’ अध्यक्ष नेपालले भने ‘अहिले मिटर ब्याजीहरु अत्यन्तै अत्याचारीको रुपमा देखा परेका छन् । दलाल नोकरशाहीको गठबन्धन पनि उस्तै छ । प्रशासन, प्रहरी र राजनीतिमा जोडिएर तीनै पक्षको गठबन्धन बनेर काम गरिरहेका छन् । गरिब किसानहरुको बिजोग बनाइरहेका छन् ।’

उनले मिहिनेत गर्ने, आम्दानी बढाउने र आनन्दको जीवन विताउने किसानलाई प्रोत्साहित गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष नेपालले बढी आर्थिक उपार्जन हुने कृषि कर्ममा संलग्न हुन समेत आह्वान गरे ।

कार्यक्रममा उनले एमाले हुँदा कायम रहेको किसान संगठनक अधिकांश नेताहरु अहिले महासंघमा रहेको बताए । ‘किसान महासंघका केही अवशेषको रुपमा मात्रै एमालेमा छन्’ उनले भने ।

एकीकृत समाजवादीको ३५१ सदस्यीय किसान महासंघ गठन
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अखिल नेपाल किसान महासंघ गठन गरेको छ । बलराम बास्कोटाको नेतृत्वमा बनेको ३५१ सदस्यीय महासंघमा नौ उपाध्यक्ष, एक महासचिव र १० जना सचिव रहेका छन् ।

उपाध्यक्षहरूमा बलदेव चौधरी, रामचन्द्र साह तेली, कृष्ण खनाल, श्रीनाथ बराल, निर्मल सुवेदी, कृष्णबहादुर बिसी, रामकुमार ज्ञवाली, सावित्रा रेग्मी र केशवराज खड्का छन् ।

महासंघको महासचिवमा प्रमेश पोखरेल र सचिवहरुमा छिरिङ लामा, बतहु यादव र भरत फुयाँल रहेका छन् शम्भु दुलाल, शर्मिला पौडेल, सुनिता भुसाल, कमल खत्री, प्रेमा अधिकारी, हनुमान चौधरी,कृष्ण नेपाली र पूर्ण बुढा रहेका छन् ।

महासंघका पदाधिकारी र समिति सदस्यहरूलाई अध्यक्ष माधवकुमार नेपालले सोमबार पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *