बिर्तामोड, ३० कार्तिक–नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनका लागि झापा सभापतिका उम्मेदवार देउकुमार थेवेको सचिवालय समिति गठन गरिएको छ । हरिबोधनी एकादशीको अवसर पारेर आज आयोजित एक कार्यक्रमका बीच देउमान थेबे सचिवालयको उद्घाटन पनि गरिएको छ ।
नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाईको संयोजकत्वमा गठित सचिवालय समितिका सदस्यहरुमा देवीप्रसाद घिमिरे, कुमार भट्टराई, चित्रकला ओली, सजेश शिवाकोटी, दीपक कार्की, गणेश मादेन, याम भुजेल, सुशिला संग्रौला, सुरेन्द्र भण्डारी, रणदेव हजाम, एलेक्स मैनाली, बसन्त आचार्य रहेका छन् ।
सचिवालयले थेवेका चुनावी कार्यक्रमको प्रचार–प्रसार गर्ने जनाइएको छ । सचिवालय उद्घाटनमा बोल्दै नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३औं महाधिवेशनमा भएको भद्र सहमति नतोड्न पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालाई आह्वान गरेका छन् ।
१३औं महाधिवेशनमा उद्वव थापालाई निर्विरोध बनाउन सभापतिका तत्कालीन उम्मेद्वार देउमान थेवेले उम्मेद्वारी फिर्ता लिएको र त्यहीबेला १४औं महाधिवेशनमा थेवेलाई सभापति बनाउने भद्र सहमति भएको भन्दै सहमति नतोड्न हस्ताक्षरकर्तालाई आह्वान गरेका हुन् ।
उतिबेला भद्र सहमतिमा हस्ताक्षर गर्ने अग्रज नेताहरु कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र गोपालकुमार बस्नेत, पूर्व सांसद डिल्ली सिटौला लगायतका नेताहरुले भद्र सहमतिमा नाम उल्लेख नगरिने बताउँदै सहमतिमा बनाइएका तत्कालीन सभापति उद्वव थापा तथा अन्य पदाधिकारीको पनि त्यहाँ नाम उल्लेख नरहेको बताएका हुन् ।
त्यसबेला भएको नौ बुँदे सहमतिमा शीर्ष चार नेता र विश्वप्रकाश शर्माले हस्ताक्षर गरेका छन् । नेता बुढाथोकीले उद्वव थापाको पालामा झापाको संगठन बलियो भएको दावी गर्दै पार्टीका लागि थापाले आफ्ना महत्वपूर्ण ११ वर्ष खर्चिएको भन्दै धन्यवाद पनि दिएका छन् ।
